काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान टुंग्याउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २२ जनालाई प्रतिवादी बनाएर मुद्दा अघि बढाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिएको हो । प्रतिवेदनमा घटनासँग सम्बन्धित विभिन्न पक्षका २२ जनाविरुद्ध कानुनी कारबाही अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ।
याे प्रकरणमा करिब ९६ अर्ब रुपैयाँ बराबरको बिगो मागदाबी गर्नुपर्ने निष्कर्षसमेत अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
सीआईबीका अनुसार दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जालसम्बन्धी विषयमा सरकारको स्वामित्व र हित प्रभावित पार्ने गरी काम भएको देखिएको छ।