काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार (आज) उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।
राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।