काठमाडौं । सामाजिक सञ्जालमा आकर्षक सामानको विज्ञापन देखाई ग्राहकलाई ह्वाट्सएपसम्म पुर्याउने र त्यसपछि बैंक खातामै पहुँच बनाएर रकम निकाल्ने ठगीको जोखिम बढ्दै गएको छ ।
यस्तै घटनामा ‘लक्ष्मी कलेक्सन स्टोर’ नामक टिकटक अकाउन्टबाट सामान खरिद गर्न लागेका केही उपभोक्ता ठगीमा परेको भन्दै प्रहरीमा पुगेका छन् ।
महिला तथा बालबालिकालाई लक्षित कपडा, जुत्ता लगायतका सामग्रीका १७३ वटा भिडियो पोस्ट गरिएको उक्त टिकटक अकाउन्टमा भिडियोमा न आवाज सुनिन्छ, न अनुहार देखिन्छ।
भिडियोको शैली हेर्दा एआईबाट निर्मित सामग्रीजस्तो देखिए पनि हजारौं उपभोक्ताले ती भिडियोको कमेन्टमा सामान खरिदबारे जिज्ञासा राखेको देखिन्छ ।
ग्राहकको जिज्ञासामा स्टोरको तर्फबाट अधिकांश अवस्थामा ह्वाट्सएप नम्बरमात्र उपलब्ध गराइएको पाइएको छ। ह्वाट्सएपबाट सम्पर्क गरी सामान खरिद गर्ने भन्दै रकम पठाएका केही ग्राहक पछि ठगीमा परेका हुन् ।
नवलपरासी पूर्वको हुप्सेकोटकी नानुमाया विक पनि यही जालोमा परेको उजुरीमा उल्लेख छ ।
उनले उक्त स्टोरले दिएको माध्यमबाट सामान खरिदका लागि रकम पठाइन् । तर, सामान नआएपछि उनले स्टोरमा गुनासो गरिन् ।
स्टोरले रकम प्राप्त नभएको भन्दै बैंक स्टेटमेन्ट पठाउन भन्यो । उनले विश्वास गरेर बैंक स्टेटमेन्ट पठाएपछि त्यसमा रहेको विवरण प्रयोग गरी उनको बैंक खाताबाट रकम निकालिएको पाइएको छ ।
यसरी उनको खातामा रहेको रकम नै निकालिएको उजुरीमा उल्लेख छ ।
काठमाडौंको बौद्धका छिरिङ लिम्जोम लामा पनि यही स्टोरको सम्पर्कमा पुगेपछि ठगीमा परेको प्रहरीले जनाएको छ ।
दुवैजनाले प्रहरीमा उजुरी दिएका छन् । तर, उनीहरूको रकम फिर्ता हुने वा नहुनेबारे यकिन भइसकेको छैन ।
अनलाइन खरिद गर्दा केमा ध्यान दिने ?
सामाजिक सञ्जालमा देखिएको विज्ञापनकै आधारमा अनलाइनबाट सामान खरिद गर्दा उपभोक्ता थप सचेत हुनुपर्छ ।
सामान खरिद गर्नुअघि बिक्रेताको वास्तविक पहिचान, व्यवसाय सरकारी निकायमा दर्ता भए/नभएको तथा आधिकारिक सम्पर्क विवरण जाँच गर्नु पर्दछ ।
अनलाइन कारोबार गर्दा अपरिचित व्यक्तिले पठाएका लिंकमा क्लिक नगर्न, ओटीपी, बैंकिङ पासवर्ड, कार्डसम्बन्धी विवरण तथा अन्य संवेदनशील व्यक्तिगत जानकारी कसैलाई पनि उपलब्ध नगराउन प्रहरीले समेत आग्रह गर्दै आएको छ ।
सामान खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिनु पनि महत्त्वपूर्ण हुन्छ । २५० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा प्यान वा भ्याट नम्बर उल्लेख भएको बिल लिने उपभोक्तालाई सरकारले प्रोत्साहन गर्ने व्यवस्था समेत गरेको छ ।
त्यसैले सामाजिक सञ्जालमा देखिएको आकर्षक विज्ञापनकै भरमा सामान खरिद गर्नुको सट्टा बिक्रेताको आधिकारिकता जाँच गर्ने, सुरक्षित माध्यमबाट भुक्तानी गर्ने र अनिवार्य रूपमा बिल लिने गर्नुपर्दछ ।