ट्रम्पको १५ बुँदे शान्ति योजना नेतन्याहुद्वारा अस्वीकार, गाजा शान्ति प्रयास थप जटिल

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको गाजासम्बन्धी १५ बुँदे शान्ति प्रस्ताव अस्वीकार गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने अडान दोहोर्याएका हुन् । 

ट्रम्पको ‘बोर्ड अफ पिस’ मार्फत ल्याइएको प्रस्तावमा हमासले हतियार त्याग्नेसँगै गाजाबाट इजरायली सेना चरणबद्ध रूपमा फिर्ता हुने र त्यसपछि अन्तर्राष्ट्रिय स्थिरीकरण बल तथा नयाँ प्यालेस्टिनी प्रहरीमार्फत सुरक्षा व्यवस्थापन गर्ने उल्लेख छ । 

तर इजरायलले सेना फिर्ती र हमासको निःशस्त्रीकरणलाई समानान्तर रूपमा लैजान नसकिने स्पष्ट पारेको छ । नेतन्याहुका अनुसार हमासले हतियार बुझाएको पूर्ण सुनिश्चितता भएपछि मात्र सेना फिर्ता हुनेछ ।

अर्कोतर्फ, हमासले भने अमेरिकी मध्यस्थतामा आएको योजनाप्रति केही लचकता देखाएको थियोे । गाजाको प्रशासन नयाँ ढाँचामा चलाउन र अमेरिकी निगरानीमा हतियारसम्बन्धी छलफल गर्न तयार रहे पनि ‘निःशस्त्रीकरण’ को परिभाषा र कार्यान्वयनलाई लिएर अझै गम्भीर मतभेद कायम छ ।

यसैबीच, गाजामा युद्धविरामपछिको अवस्थामा पनि मानवीय क्षति रोकिन सकेको छैन । रोयटर्सका अनुसार युद्धविराम घोषणा भएयता मात्रै इजरायली कारबाहीमा १ हजार २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

विश्लेषकहरूका अनुसार नेतन्याहुको यो पछिल्लो निर्णयले ट्रम्प प्रशासन र इजरायलबीचको सम्बन्ध तथा गाजाको भावी रणनीतिका विषयमा मतभेद बढाउने सङ्केत गरेको छ । 

दुवै पक्षबीच मुख्य बुँदामै सहमति जुट्न नसकेपछि गाजामा दीर्घकालीन शान्ति, पुनर्निर्माण र सुरक्षा व्यवस्थापनको प्रयास पुनः अनिश्चित बनेको छ ।

Share News