काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई आर्थिक वर्ष २०८३/८४ को धितोपत्र वार्षिक नवीकरण शुल्क आगामी असोज मसान्तभित्र बुझाउन निर्देशन दिएको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम तोकिएको समयभित्र नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नुका साथै सूचीकरण नै स्थगन हुनसक्ने चेतावनी नेप्सेले दिएको छ ।
नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले वार्षिक ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि चुक्ता पूँजी भएका कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्नेछ ।
यस्तै, डिबेन्चर तथा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को हकमा ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भए २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि भए ५० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
सूचीकृत कम्पनीहरूले ग्लोबल आइएमई बैंक, कमलादीमा रहेको नेप्सेको खातामा सो रकम जम्मा गरी बैंक भौचर इमेलमार्फत पठाउनुपर्ने नेप्सेले जनाएको छ ।