काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार विशेष अदालत काठमाडौंमा १२ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार काष्ठ उद्योगका लागि ल्याइएको काठको शिल खोलेको मुचुल्का तयार गरी कागजात फिर्ता गर्ने क्रममा रायले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख हैरानी दिएका थिए ।
त्यसक्रममा उनले काम गरिदिने भन्दै सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस मागेको र लिएको आरोप छ ।
उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानबाट रायले आफ्नो पदको दुरुपयोग गर्दै घुस लिएको पुष्टि भएको आयोगको दाबी छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो १२ हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।