काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सम्मान गरेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका पूर्वमहासचिव तुल्सीलाल अमात्यको २९औं स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा पूर्वराष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गर्दै नेपाललाई सम्मान गरेकी हुन् ।
तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक रूपान्तरण तथा सार्वजनिक जीवनमा पुर्याएको योगदानको कदरस्वरूप नेपाललाई सम्मान गरिएको हो ।
पूर्वराष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री नेपाल एकै मञ्चमा सहभागी भएको उक्त समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वमन्त्री, सांसद, वाम आन्दोलनसँग आबद्ध नेताहरू, बुद्धिजीवी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले प्रत्येक वर्ष अमात्यको स्मृति दिवसका अवसरमा विभिन्न क्षेत्रका योगदानशील व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।