बीमा रकमका लागि ‘विवाह’ को नाटक गर्दै श्रीमतीको हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित हमिरपुरमा एउटा यस्तो हृदयविदारक घटना सार्वजनिक भएको छ, जसले मानवीय संवेदनालाई नै स्तब्ध बनाएको छ । 

त्यहाँ एक व्यक्तिले आफ्नै श्रीमतीको नाममा रहेको ४४ लाख रुपैयाँ बीमा रकम हात पार्नका लागि उनको हत्या गरेको पुष्टि भएको छ ।

घटनाको भित्री पाटो केलाउँदा ती व्यक्तिले साढे दुई वर्षअघि मात्रै ती महिलासँग प्रेम विवाह गरेका थिए । यो महिलाको दोस्रो र पुरुषको तेस्रो विवाह थियो । 

योजनाबद्ध रूपमा गरिएको भनिएको उक्त विवाहलगत्तै ती पुरुषले श्रीमतीको ठूलो रकमको बीमा गराएका थिए । बीमा रकम हडप्न उनले आफ्ना साथीहरूसँग मिलेर हत्याको डरलाग्दो षड्यन्त्र रचेको भारतीय प्रहरीले जनाएको छ ।

गत जुलाई २९ को राति हमिरपुरको लालपुरा क्षेत्रमा सडकको छेउमा ती महिलाको शव फेला परेको थियो । सुरुवातमा प्रहरीले यसलाई सामान्य सडक दुर्घटना मानेको थियो । तर, अनुसन्धान गर्दै जाँदा जाँदा घटनाको ४८ घण्टाभित्रै रहस्यको पर्दाफास भयो ।

दुर्घटना नभई नियतवश गरिएको हत्या भएको र त्यसको मुख्य योजनाकार उनकै श्रीमान रहेको प्रमाण प्रहरीले फेला पारेको छ । 

हाल प्रहरीले अभियुक्त श्रीमान् र हत्यामा संलग्न उनका साथीहरूलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही अघि बढाएको छ । (भारतीय सञ्चारमाध्यमको सहयोगमा)

Share News