मार्जिन कारोबार सुरू गर्दै डाइनामिक र कोहिनुर, बैंकबाट लिए साढे ३ अर्ब ऋण

काठमाडौं । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४) र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ३५) ले चालु आर्थिक वर्ष २०८३/८४ देखि मार्जिन कारोबार सेवा सञ्चालन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा निर्देशिका लागू गरेसँगै दुवै कम्पनीले सेवा सञ्चालनको तयारी तीव्र बनाएका हुन् ।

मार्जिन कारोबारका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया अघि बढाएका छन् । डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले करिब १ अर्ब ५० करोड रुपैयाँ र कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँ ऋण जुटाउने तयारी गरिरहेका छन् ।

डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले गत आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड रुपैयाँ तथा आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनी नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य हो । कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको यस संस्थाले धितोपत्र खरिद-बिक्री सहजीकरण गर्दै मुख्य रूपमा दलाली शुल्कबाट आम्दानी गर्दै आएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्यसमेत हो ।

null

हाल कम्पनीका दुई शाखा सञ्चालनमा रहेका छन् । कम्पनीको नेतृत्व कार्यकारी अध्यक्ष मधु जोशी र कार्यकारी निर्देशक रमेश कुँवरले गरिरहेका छन् ।

सन् २०२६ जुन मसान्तसम्म कम्पनीसँग ६३ हजार ४८१ सक्रिय ग्राहक रहेका छन् । कम्पनीको कुल सञ्चालन आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा धितोपत्र दलाली शुल्कबाट प्राप्त हुने गरेको छ भने बाँकी आम्दानी निक्षेप सदस्य सेवा लगायतका स्रोतबाट हुने गरेको जनाएको छ ।

यस्तै, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजले गत आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ६२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा १० करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य रहेको कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज कम्पनी ऐनअन्तर्गत २०६४ साल कात्तिकमा स्थापना भएको हो । कम्पनीले धितोपत्र खरिद-बिक्री सहजीकरणबाट दलाली शुल्क आर्जन गर्नुका साथै आफ्नो लगानी पोर्टफोलियोबाट लाभांश तथा पुँजीगत लाभसमेत प्राप्त गर्दै आएको छ ।

null

कम्पनीको नेतृत्व सञ्चालक समितिका अध्यक्ष भरत रनाभाटले गरिरहेका छन् भने सञ्चालकमा बिनिता रनाभाट रहेकी छन् । सन् २०२६ जुलाईसम्म कम्पनीसँग एक लाख २१ हजार १२५ सक्रिय ग्राहक रहेका छन् । साथै, गत आर्थिक वर्षमा कम्पनीले आफ्नो बजार हिस्सा बढाएर १.९८ प्रतिशत पु¥याएको छ भने ९२ धितोपत्र दलाल कम्पनीमध्ये १२औँ स्थानमा उक्लिएको जनाएको छ ।

दुवै कम्पनीले मार्जिन कारोबार सेवा सञ्चालनसँगै ब्याज आम्दानीको नयाँ स्रोत थपिने अपेक्षा गरेका छन् । यसबाट दलाली शुल्कमा रहेको उच्च निर्भरता क्रमशः घट्दै आम्दानीका स्रोत विविधीकरण हुने विश्वास गरिएको छ ।

Share News