काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चार नयाँ सदस्य नियुक्त गरेसँगै कार्यकारी परिषदले पूर्णता पाएको छ।
त्रिविका प्रवक्ता नविन्द्रप्रसाद भण्डारीले कार्यकारी परिषद् सदस्यमा भूगोल केन्द्रीय विभागका प्रा.डा. कन्हैया सापकोटा, वनस्पति केन्द्रीय विभागकी प्रमुख प्रा.डा. विजया पन्त, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा र कानुन संकायका डिन प्रा.डा. दिनानाथ पराजुली नियुक्त भएको जानकारी दिए ।
उनका अनुसार त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ (संशोधन २०७७) अनुसार कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति रहने व्यवस्था छ भने परिषदमा शिक्षाध्यक्ष, अध्ययन संस्थानका डिनमध्ये एक जना, संकायका डिनमध्ये एक जना तथा विश्वविद्यालयका शिक्षकमध्ये दुईजना सदस्य रहने कानुनी व्यवस्था रहेको छ ।
त्यस्तै, परिषद्को सदस्यसचिवका रूपमा रजिस्ट्रार रहने प्रावधान छ । कार्यकारी परिषदको पूर्णताले अब आवश्यक विषयमा छलफल हुन सहज हुने अवस्था आएको त्रिविले जनाएको छ ।
कार्यकारी परिषद्ले पूर्णता पाए पनि त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार नियुक्ति भने अझै हुन बाँकी रहेको छ ।