काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ । तथ्याङ्कले नेपालमा डिजिटल भुक्तानी प्रणालीप्रतिको विश्वास र प्रयोग निरन्तर बढ्दै गएको देखाएको हो । विशेषगरी कनेक्टआईपिएस, कर्पोरेट डिजिटल भुक्तानी लगायतमार्फत हुने कारोबार रकममा भएको उल्लेखनीय वृद्धिले नगदरहित अर्थतन्त्र निर्माणतर्फ नेपालले तीव्र गति लिइरहेको संकेत गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानका अनुसार नेपालमा भुक्तानी प्रणाली तीव्र रूपमा डिजिटल माध्यमतर्फ रूपान्तरण भइरहेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा क्लियरिङ तथा सेटलमेन्ट प्रणालीबाट २३ करोड ८१ लाख ७६ हजार ७०४ पटक कारोबार हुँदा २१० खर्ब १८ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको भुक्तानी भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २१ करोड १२ लाख १९ हजार १४३ पटक कारोबार हुँदा १८६ खर्ब २ अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
सीईओ प्रधानका अनुसार पहिले चेकमार्फत हुने ठूलो रकमको कारोबार अहिले रियल टाइम डिजिटल भुक्तानी प्रणालीतर्फ सर्दै गएको छ । क्लियरिङ तथा सेटलमेन्ट प्रणालीअन्तर्गत एनसीएचएल-ईसीसीमार्फत गत आर्थिक वर्ष १ करोड ४८ लाख १४ हजार ९७ पटक कारोबार हुँदा ७८ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको एनसीएचएलले जनाएको छ ।
जबकि अघिल्लो वर्ष १ करोड ४८ लाख ९० हजार ५९० पटक कारोबार हुँदा ७६ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ भुक्तानी भएको थियो ।
गत आवमा एनसीएचएल-आईपिएसमार्फत गत वर्ष ३ करोड ६६ लाख २३ हजार ५३२ पटक कारोबार हुँदा ३४ खर्ब ९२ अर्ब ४५ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष ३ करोड ६ लाख ५१ हजार १२७ पटक कारोबार हुँदा २९ खर्ब ३६ अर्ब ८१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
एनसीएचएलका अनुसार गत वर्ष रिटेल पेमेन्ट प्रणाली (आरपीएस) अर्थात् कनेक्टआईपिएसमार्फत १४ करोड ४७ लाख २४ हजार ८३२ पटक कारोबार हुँदा ९३ खर्ब २८ अर्ब १० करोड रुपैयाँ बराबर भुक्तानी भएको छ । अघिल्लो वर्ष ११ करोड २३ लाख ५८ हजार ७०७ पटक कारोबार हुँदा ७५ खर्ब ५३ अर्ब ३३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
यद्यपि, ईएफटी कार्डमार्फत हुने कारोबार संख्या र रकम दुवै घटेको छ । गत आर्थिक वर्ष ४ करोड २० लाख १४ हजार २४३ पटक कारोबार हुँदा ३ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो आर्थिक वर्ष ५ करोड ३३ लाख १८ हजार ७१९ पटक कारोबार हुँदा ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । ईएफटी कार्ड भनेको भिसा, मास्टरकार्ड र युनियनपे जस्ता कार्डमार्फत गरिने खरिद कारोबार हो ।

कनेक्ट आरटीजीएसमार्फत गत वर्ष ३ लाख ३१ हजार ६९२ पटक कारोबार हुँदा ९० खर्ब ५४ अर्ब ३० करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष ३ लाख २६ हजार ९६८ पटक कारोबार हुँदा ९१ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) अन्तर्गत १३ करोड ५५ लाख १ हजार ८९७ पटक कारोबार हुँदा ६० खर्ब ४५ अर्ब २४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष १० करोड ५४ लाख ४० हजार १९२ पटक कारोबार हुँदा ४७ खर्ब ७५ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
एनपीआईअन्तर्गत एनसीएचएल-आईपिएसमार्फत २ करोड ४० लाख २६ हजार ९७१ पटक कारोबार हुँदा २० खर्ब ३३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, कनेक्टआईपिएस रिटेल पेमेन्ट प्रणालीमार्फत ११ करोड १४ लाख ७४ हजार ९२६ पटक कारोबार हुँदा ४० खर्ब ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
अघिल्लो आर्थिक वर्ष एनसीएचएल-आईपिएसमार्फत २ करोड १९ लाख ४२ हजार १०२ पटक कारोबार हुँदा १७ खर्ब ७५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कनेक्टआईपिएस रिटेल पेमेन्ट प्रणालीमार्फत ८ करोड ३४ लाख ९८ हजार ९० पटक कारोबार हुँदा २९ खर्ब ९९ अर्ब ७० करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
कर्पोरेटपे सेवाको प्रयोग पनि उल्लेखनीय रूपमा बढेको छ । गत आर्थिक वर्ष ८८ लाख २६ हजार ४२९ पटक कारोबार हुँदा १८ खर्ब ७२ अर्ब ९० करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । अघिल्लो वर्ष ४२ लाख १७ हजार २७२ पटक कारोबार हुँदा ११ खर्ब ६० अर्ब ४८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
यसअन्तर्गत एनसीएचएल-आईपिएसमार्फत २३ लाख २९ हजार १६६ पटक कारोबार हुँदा ५ खर्ब ७२ अर्ब ९८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । कनेक्टआईपिएसमार्फत ६४ लाख ९७ हजार २६३ पटक कारोबार हुँदा १२ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
सीईओ प्रधानका अनुसार आर्थिक वर्ष २०६८/६९ यता चेकमार्फत हुने कारोबार लगातार बढेको भए पनि पछिल्ला चार वर्षदेखि त्यसमा गिरावट देखिएको छ । अहिले चेकको प्रयोग मुख्यतः व्यवसायिक कारोबारमा सीमित हुँदै गएको छ भने सर्वसाधारण डिजिटल माध्यममा आकर्षित भइरहेका छन् ।
उनले आईपिएस र आरपीएस दुवैको प्रयोग बढ्दै गए पनि आरपीएसको वृद्धि अझ तीव्र रहेको बताए । मोबाइल बैंकिङ, कनेक्टआईपिएस, कर्पोरेटपे तथा सरकारी डिजिटल भुक्तानीजस्ता कारोबार आरपीएसमार्फत हुने भएकाले यसको वृद्धिदर उच्च रहेको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा पहिलो पटक चेकमार्फत हुने कारोबार रकमलाई आरपीएसले उछिनेको छ । गत वर्ष चेकमार्फत करिब ७८ खर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो भने आरपीएसमार्फत ९३ खर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसअघि चेकमार्फत हुने कारोबार रकम नै बढी हुने गरेको उनको भनाइ छ ।
उनले सानोदेखि ठूलो रकमसम्मका कारोबार अहिले रियल टाइम डिजिटल माध्यमबाट हुन थालेको उल्लेख गर्दै सर्वसाधारण, निजी क्षेत्र र सरकारी निकाय सबै डिजिटल भुक्तानीतर्फ अग्रसर भएकाले आगामी दिनमा यसको प्रयोग अझ तीव्र रूपमा बढ्ने विश्वास व्यक्त गरे ।