सुनचाँदी व्यवसायीका लागि महासंघको वेबसाइट र मोबाइल एप सञ्चालनमा

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ ।

त्रिपुरेश्वरस्थित महासंघको सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवालले वेबसाइट र मोबाइल एपको औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै अग्रवालले सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायलाई आधुनिक, व्यवस्थित र पारदर्शी बनाउने महासंघको पहल समयानुकूल र अनुकरणीय रहेको बताए । डिजिटल प्रविधिको प्रभावकारी प्रयोगले व्यवसाय सञ्चालन, सेवा प्रवाह तथा सूचना आदानप्रदानलाई अझ सहज, छिटो र विश्वसनीय बनाउने उनको भनाइ थियो ।

महासंघका अध्यक्ष किसान सुनारले वेबसाइट तथा मोबाइल एप निर्माणको उद्देश्य सदस्य व्यवसायीलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सूचना, सेवा र व्यवसाय व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराउनु रहेको बताए । महासंघलाई प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

महासंघका अनुसार वेबसाइट र मोबाइल एपमार्फत सदस्य व्यवसायीले सुन र चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन, नियम तथा निर्देशिका, कार्यक्रमसम्बन्धी जानकारी तथा व्यवसाय व्यवस्थापनसँग सम्बन्धित विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसले व्यवसायलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास महासंघको छ ।

कार्यक्रममा महासंघअन्तर्गतका सदस्य संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरू भौतिक र अनलाइन माध्यमबाट सहभागी भएका थिए । सहभागीहरूले डिजिटल प्रणालीको उपयोगिता, सेवाको विस्तार र आगामी दिनमा थप सुविधा समावेश गर्नुपर्ने विषयमा सुझाव दिएका थिए ।

कार्यक्रमको समापनमा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले वेबसाइट तथा मोबाइल एप निर्माणमा सहयोग गर्ने प्राविधिक टोली, सदस्य संस्था, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै व्यवसायीलाई डिजिटल सेवाको अधिकतम उपयोग गर्न आग्रह गरे ।

महासंघले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम उपयोग गर्दै सुनचाँदी तथा आभूषण व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Share News