काठमाडौं । ब्रिटिस काउन्सिलले अङ्ग्रेजी भाषा शिक्षणको भविष्य, सिर्जनशीलता, समावेशिता र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे केन्द्रित दक्षिण एसियाली अनलाइन सम्मेलन आयोजना गर्ने भएको छ ।
‘साउथ एसिया टिचिङ इङ्ग्लिस अनलाइन कन्फ्रेन्स २०२६’ शीर्षकको सम्मेलन जुलाई २३ देखि २५ सम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपालसहित बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ । कार्यक्रममा इच्छुकले निःशुल्क सहभागी हुन सक्ने व्यवस्था गरिएको ब्रिटिस काउन्सिलले जनाएको छ ।
सम्मेलनमा बदलिँदो विश्व परिवेशअनुसार विद्यार्थीलाई सिर्जनशील, आलोचनात्मक सोच भएका, प्रभावकारी सञ्चार गर्न सक्ने तथा सहकार्यमा सक्षम नागरिकका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल हुनेछ । साथै विद्यालयहरूले यस्ता सीप विकासमा खेल्नुपर्ने भूमिकामाथि पनि विमर्श गरिनेछ ।
ब्रिटिस काउन्सिलका अनुसार दक्षिण एसियाली मुलुकका शैक्षिक प्रणालीले पाठ्यक्रम, मूल्याङ्कन र विद्यार्थीका बदलिँदा आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेका बेला सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा भाषा शिक्षणलाई केवल भाषाको ज्ञानमा सीमित नराखी विद्यार्थीको आलोचनात्मक सोच, सहभागिता, आत्मविश्वास र सिकाइप्रतिको स्वामित्व अभिवृद्धिमा केन्द्रित शिक्षण पद्धतिबारे पनि छलफल हुनेछ ।
यस्तै, बहुभाषिक कक्षाकोठालाई थप समावेशी बनाउने उपाय, नवप्रवर्तनमुखी शिक्षण अभ्यास तथा कृत्रिम बुद्धिमत्ता (एआई) लाई शिक्षणको विकल्प नभई सहयोगी उपकरणका रूपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा समेत विज्ञहरूले अनुभव आदानप्रदान गर्नेछन् ।
सम्मेलनमा मुख्य प्रस्तुति, विषयगत छलफल, कक्षाकोठाका व्यवहारिक अनुभव र उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरिनेछन् । यसबाट दक्षिण एसियाका साझा शैक्षिक चुनौतीलाई स्थानीय सन्दर्भअनुसार कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सहभागीले अनुभव साटासाट गर्ने अवसर पाउने आयोजकको विश्वास छ ।
ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकासका लागि सिर्जनशीलता अपरिहार्य रहेको उल्लेख गर्दै सम्मेलनले शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालालाई अनुसन्धानमा आधारित व्यवहारिक ज्ञान र कक्षाकोठामा लागू गर्न सकिने नयाँ रणनीतिबारे जानकारी दिने बताए । साथै, दक्षिण एसिया र विश्वका विभिन्न मुलुकका शिक्षाविद्हरूसँग अनुभव आदानप्रदान गर्ने अवसरसमेत सम्मेलनले प्रदान गर्ने उनको भनाइ छ ।