नेपालमै पहिलो पटक ‘ड्रोन बीमा’, प्रिमियम ३ देखि ५ प्रतिशतसम्म

ड्रोन दुर्घटना, चोरी र तेस्रो पक्षको क्षति अब बीमाबाट सुरक्षित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले नेपालमै पहिलो पटक ड्रोन बीमालेख सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट ड्रोन बीमालेख जारी गर्न स्वीकृति पाएसँगै कम्पनीले उक्त बीमा योजना बजारमा ल्याएको हो ।

नेपालमा कृषि, प्ूर्वाधार निर्माण, चलचित्र तथा मिडिया, शैक्षिक तथा अनुसन्धान, पर्यटन तथा फोहर संकलनदेखि विभिन्न क्षेत्रमा ड्रोनको प्रयोग बढ्दै गइरहेको छ । ड्रोनको बढ्दो प्रयोगसँगै कम्पनीले यस्तो जोखिम बहन हुने गरी नयाँँ बीमालेख सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो बीमालेख व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि ड्रोन प्रयोग गर्ने व्यक्ति/संस्थालाई सम्भावित आर्थिक जोखिमबाट सुरक्षित बनाउने उद्देश्यले ल्याइएको हो । कम्पनीका नायब प्रबन्धक सुजन खकुरेलले यो बीमालेख एउटा पूर्ण प्याकेज भएको जानकारी दिए ।

यो बीमालेखले मूख्यतया तीन वटा क्षेत्रलाई समेट्ने उनले बताए । जसअन्र्तत ड्रोन उडाउँदै गर्दा प्राकृतिक विपत्ति जस्तै पानी, भुइँचालो, चट्याङ वा अन्य कारणले हुने क्षतिदेखि चोरी हुँदासमेत यी बीमालेखले कभर गर्छ ।

त्यस्तै, ड्रोन सञ्चालनका क्रममा तेस्रो पक्षको व्यक्ति वा सम्पत्तिमा क्षति पुगेमा वा चोटपटक लागेमा त्यसको दायित्व बिमाले कभर गर्छ ।

त्यस्तै, ड्रोन सञ्चालन गर्ने सञ्चालक (अपरेटर) को दुर्घटना भई मृत्यु भएमा वा पूर्ण/अस्थायी अशक्तता भएमा बिमा कभरेज उपलब्ध हुने कम्पनीले जनाएको छ । 

ड्रोनको वर्गीकरण 

नायब प्रबन्धक खकुरेलका अनुसार ड्रोनको प्रयोगका आधारमा यसलाई  ७–८ वटा क्याटेगरीहरू छुट्याइएको छ । जस्तैः सामान ढुवानी, फोटोग्राफी/भिडियोग्राफी, प्रहरी निगरानी, निर्माणसम्बन्धी कार्य, वन्यजन्तु संरक्षण, म्यापिङ र कृषि । उनले ड्रोनको वर्गीकरणअनुसार बीमा पनि छुट्टाछुटै हुने बताए । 

यो बीमाले कुनै कम्पनी वा व्यक्तिगत रूपमा फोटोग्राफीमा रुचि राख्ने व्यक्ति दुवैले लिन सक्छन् । बीमा गर्न चाहिने बीमितले ड्रोन किनेको बिल, बजार मूल्य, ड्रोनको सिरियल नम्बर र युनिक आइडेन्टिटी नम्बर, र सञ्चालकको लाइसेन्स आवश्यक पर्छ । 

नायब प्रबन्धक खकुेलले भने, ‘मानव रहित हवाई उपकरणसम्बन्धी कार्यविधि २०७५’ अनुसार अधिकार प्राप्त र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स लिएको हुनुपर्छ ।’

बीमा शुल्क

नायब प्रबन्धक खकुरेलका अनुसार ड्रोनको जोखिम र प्रयोग हुने क्याटेगरी अनुसार यसको प्रिमियम पनि छुट्टछुटटै हुन्छ । ‘सामान ढुवानी गर्नको लागि हो कि निगरानी अथवा कुनै कृषिको लागि हो, त्योअनुसार बीमाको रकम छुट्टछुट्टै हुन्छ,’ उनले भने । 

उनका अनुसार यो बीमालेखमा औसतमा ड्रोनको बजार मूल्यको प्रयोजनका आधारमा ३ देखि ५ प्रतिशतसम्म प्रिमियम दर तोकिएको छ ।

दाबी प्रक्रिया 

दाबी प्रक्रियाबारे उनले ड्रोन बीमामा क्षति भएपछि बीमितले ३० दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्ने बताए ।

उनका अनुसार दाबीका लागि ड्रोन खरिदका कागजात, बीमालेख (पोलिसी), दाबी फाराम र घटनाको विस्तृत विवरण पेश गर्नुपर्ने हुन्छ । चोरीको घटनामा भने प्रहरीको रिर्पोट अनिवार्य गरिएको छ ।

ठूलो परिमाणको क्षति भएको अवस्थामा कम्पनीले प्राविधिक टोली (सर्भेयर) मार्फत घटनास्थलको निरीक्षण तथा क्षतिको मूल्याङ्कन गर्ने व्यवस्था रहेको उनले बताए । उनले आवश्यक कागजात पूरा भएपछि सकेसम्म छिटो दाबी भुक्तानी गर्ने कम्पनीको उद्देश्य रहेको पनि उल्लेख गरे ।

बीमालेख ल्याउनुअघि अध्ययन

खकुरेलले ड्रोन बीमालेख ल्याउनुअघि कम्पनीले विस्तृत अध्ययन गरेको र अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनी (रिइन्स्योरेन्स) सँग समेत परामर्श गरी बीमालेख तयार पारिएको बताए । 

‘हामीले यो बीमालेख ल्याउनुअघि धेरै अध्ययन गरेका छौं, अन्तर्राष्ट्रिय बजारका रिइन्स्योरेन्ससँग पनि छलफल गरेर नेपाली बजारको आवश्यकतालाई ध्यानमा राखी यो बीमालेख डिजाइन गरेका हौं,’ उनले भने ।

खकुरेलले कम्पनीमा यसअघि नै विभिन्न ग्राहकले ड्रोनको बीमा सम्बन्धमा बारम्बार जिज्ञासा राख्ने गरेको जानकारी दिए । तर यस्तो बीमालेख उपलब्ध नभएकाले उनीहरूलाई सेवा दिन नसकिएको अवस्था थियो ।
 
‘ग्राहकबाट निरन्तर ड्रोन बीमाबारे सोधपुछ भइरहन्थ्यो, त्यतिबेला यस्तो बीमालेख उपलब्ध छैन भन्नुपर्दा बजारमा यसको आवश्यकता महसुस गरेका थियौं,’ उनले भने । 

उनका अनुसार ड्रोनको प्रयोग विभिन्न क्षेत्रमा बढ्दै गएकाले यस्तो बीमा नेपाली बजारका लागि आवश्यक रहेको छ । हाल बीमालेख तयार भइसकेकाले इच्छुक व्यक्तिले तत्कालै ड्रोन बीमा गर्न सक्ने उनले बताए ।

साथै उनले ड्रोन बीमालेख नेपालमा नयाँ भएकाले धेरैलाई यसबारे जानकारी नभएको बताए । त्यसैले कम्पनीले यसको प्रवद्र्धन र जनचेतना अभिवृद्धिका लागि विशेष रूपमा काम गरिरहेको उनको भनाइ छ ।

‘ड्रोन बीमा नेपालका लागि नयाँ अवधारणा भएकाले धेरैलाई यसको बारेमा जानकारी छैन, त्यसैले हाम्रो टोली अहिले यसको प्रचारप्रसार र बजार विस्तारमा सक्रिय रूपमा लागिरहेको छ,’ उनले भने ।

Share News