काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४५) ले मार्जिन ट्रेडिङ सेवा विस्तारका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब रुपैयाँ कर्जा लिने तयारी गरेको छ । कम्पनीका अध्यक्ष भक्तिराम घिमिरेका अनुसार मार्जिन ट्रेडिङका लागि आवश्यक स्रोत जुटाउन बैंकसँग कर्जा लिने प्रक्रिया अघि बढाइएको छ ।
यसका लागि आवश्यक कागजात बुझाउने काम भइरहेको छ भने कर्जा स्वीकृतिका लागि आवश्यक पर्ने क्रेडिट रेटिङ प्रक्रिया पनि पूरा गरिएको उनले बताए । रेटिङ कम्पनी केयरएज रेटिङ नेपालले एटू प्रदान गरेको छ ।
‘बैंकबाट लिइने १ अर्ब रुपैयाँ शेयर बजारमै मार्जिन कर्जाका रूपमा प्रवाह गरिनेछ । संस्थागत तथा दीर्घकालीन लगानीकर्ताको सहभागिता अझै अपेक्षाअनुसार बढ्न नसकेको अवस्थामा लगानीकर्तालाई सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याएका हौं,’ घिमिरेले भने, ‘हाम्रो मुख्य उद्देश्य ब्याज आम्दानी बढाउनेभन्दा पनि न्यून सेवा शुल्कमा मार्जिन कर्जा उपलब्ध गराएर बजारलाई थप चलायमान बनाउने र कारोबार (टर्नओभर) वृद्धि गर्ने हो ।’
उनका अनुसार कम्पनीले असार १९ गतेदेखि मार्जिन ट्रेडिङ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइसकेको छ । हाल आफ्नै पुँजीबाट मार्जिन कर्जा उपलब्ध गराउँदै आएको कम्पनीले साउनदेखि बैंकबाट थप स्रोत जुटाएर सेवा विस्तार गर्ने तयारी गरेको छ । हालसम्म कम्पनीले करिब ८-१० करोड रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गरिसकेको छ । साउनदेखि भने योग्य लगानीकर्तालाई अधिकतम ५ करोड रुपैयाँसम्म मार्जिन कर्जा उपलब्ध गराउने योजना रहेको घिमिरेले बताए । अहिलेका लागि १०-२० लाख रुपैयाँसम्म कर्जा आवश्यक पर्ने साना लगानीकर्तालाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
पाँच शाखा, १ लाख ५८ हजार ग्राहक
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) इम्पेरियल सेक्युरिटिज सन् २००७ डिसेम्बरमा स्थापना भएको हो । कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार सदस्य तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्यका रूपमा कार्यरत छ ।
हाल कम्पनीले देशभर पाँच शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको नेतृत्व अध्यक्ष भक्तिराम घिमिरेले गरिरहेका छन् भने प्रमुख सञ्चालन अधिकृत (सीओओ) सीताराम अधिकारी रहेका छन् ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ४९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १४४.५५ प्रतिशत अर्थात् २९ करोड २० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सोही अवधिमा कम्पनीको कुल कारोबार १७२ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। कारोबार बढेसँगै ब्रोकरेज कमिसन आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ ।
गत आर्थिक वर्ष कम्पनीले २८ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने ग्रस क्यास एक्रुअल २९ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस अवधिमा ९२ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ग्रस क्यास एक्रुअल १२ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको नौ महिनासम्म कम्पनीको नेटवर्थ ८१ करोड रुपैयाँ पुगेको छ भने गैर-कोषमा आधारित बैंक सुविधा (नन-फन्ड बेस्ड लिमिट) सहित कुल दायित्व ५१ करोड ४० लाख रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार सन् २०२६ जुन मध्यसम्म यसको बजार हिस्सा ३.३७ प्रतिशत रहेको छ भने १ लाख ५८ हजारभन्दा बढी सक्रिय ग्राहक छन् । कम्पनीले खुद्रा र संस्थागत दुवै प्रकारका लगानीकर्तालाई सेवा दिँदै आएको जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्म कारोबारका आधारमा इम्पेरियल सेक्युरिटिज नेपालका ९२ स्टक ब्रोकरमध्ये तेस्रो स्थानमा रहेको कम्पनीको दाबी छ । यद्यपि, कम्पनीको बजार हिस्सा गत वर्ष ४.०४ प्रतिशतबाट घटेर ३.३७ प्रतिशतमा सीमित भएको छ ।
हाल कम्पनीको कुल आम्दानीमध्ये करिब ९० प्रतिशत हिस्सा ब्रोकरेज कमिसनबाट प्राप्त हुन्छ । बाँकी आम्दानी डिपोजिटरी सेवा तथा अन्य शुल्कबाट आउने गरेको छ । कम्पनीले मार्जिन ट्रेडिङ व्यवसाय विस्तारसँगै कर्जाबाट प्राप्त हुने ब्याज आम्दानीमार्फत आयका स्रोत थप विविधीकरण गर्ने लक्ष्य राखेको जनाएको छ ।