मौसमजन्य विपद्को पूर्वसूचना थप प्रभावकारी बनाउन टेलिकम र मौसम विभागबीच सहकार्य

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बुधबार सम्पन्न सम्झौतामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोडमार्फत जल तथा मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना र आवश्यक जानकारी एसएमएसबाट पठाइनेछ ।

यसअन्तर्गत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता प्रकोपबारे समयमै पूर्वसूचना उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।

सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली र महाकालीलगायत नदी तटीय क्षेत्रका एसएमएस पोलिगन, आकस्मिक बाढी सम्भावित क्षेत्र, स्थानीय तह तथा जिल्लागत नक्सासहित आवश्यक भौगोलिक विवरण नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ । सोही आधारमा जोखिम क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्तालाई लक्षित गरी पूर्वसूचना पठाइने व्यवस्था मिलाइनेछ ।

नेपाल टेलिकमले विपद्सम्बन्धी एसएमएस सेवा विगतदेखि नै निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसका लागि कम्पनीले जल तथा मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको ७०० वटा डाटा सहितको सिममा थप १०० वटा सिम थपेर अब ८०० वटा सिम निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा २०७३ सालदेखि नै मौसमजन्य विपद्को पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह हुँदै आएको छ । दुवै पक्षले यसअघि प्रदान हुँदै आएको सेवाप्रति एकअर्कालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको यो सेवाबाट हालसम्म लाखौं नागरिक लाभान्वित भएको र आगामी दिनमा अझ बढी नागरिकसम्म पूर्वसूचना पुर्याउने अपेक्षा गरेको छ ।

Share News