काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका सबै खेल सकिएसँगै अर्जेन्टिना, इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
अब उपाधि यात्राका लागि अर्जेन्टिना र इङ्ग्ल्यान्ड तथा फ्रान्स र स्पेनबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ ।
विश्व फुटबलका दुई ऐतिहासिक प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल सबैभन्दा बढी प्रतीक्षित खेलका रूपमा हेरिएको छ ।
सन् १९८६ को मेक्सिको विश्वकपको क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र त्यसको केही मिनेटपछि गरेको ‘गोल अफ द सेन्चुरी’का कारण यी दुई टोलीबीचको प्रतिस्पर्धाले विशेष ऐतिहासिक महत्त्व पाएको थियो ।
त्यसयता विश्वकपमा यी दुई टोलीबीच भएका प्रत्येक भेट फुटबल समर्थकमाझ विशेष आकर्षणको केन्द्र बन्दै आएका छन् ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
उता इङ्ग्ल्यान्डले नर्वेमाथि जित निकाल्दै विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको छ । युवा स्टार जुड बेलिङ्घम र कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शन इङ्ग्ल्यान्डका लागि निर्णायक बन्दै आएको छ ।
अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् । फ्रान्सले मोरक्कोलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा स्पेनले बेल्जियमलाई रोमाञ्चक खेलमा पराजित गर्दै उपाधिको आशा कायम राखेको हो ।
दुवै टोली आक्रामक शैलीको फुटबल खेल्ने भएकाले यो खेल पनि उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
सेमिफाइनलमा पुगेका चारै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् । अर्जेन्टिना तीन पटक (१९७८, १९८६ र २०२२), फ्रान्स दुई पटक (१९९८ र २०१८), स्पेन एक पटक (२०१०) र इङ्ग्ल्यान्ड एक पटक (१९६६) विश्वकप च्याम्पियन बनिसकेका छन् ।
चारवटै टिम फिफा वरीयताको शीर्ष चार स्थानमा रहेका छन् । पहिलो स्थानमा फ्रान्स, दोस्रो स्थानमा अर्जेन्टिना, तेस्रो स्थानमा स्पेन र चौंथो स्थानमा इंङ्ग्ल्यान्ड रहेको छ ।
अब विश्वकपमा दुई सेमिफाइनल, तेस्रो स्थानका लागि हुने एक खेल र फाइनल गरी चार खेल मात्र बाँकी छन् ।
सेमिफाइनलबाट विजयी हुने दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् भने पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अन्य सान्दर्भिक सामग्रीहरू :
यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम
‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू
विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा
विश्वकपको उपाधि होड थप रोमाञ्चक
क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन्
विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन
डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती
यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]
विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान