११ महिनामा साढे ११ अर्बको कस्मेटिक प्रडक्ट भित्रियो, ५ वर्षमा ७७ प्रतिशत बढ्यो

काठमाडौं । नेपालमा सौन्दर्य सामग्री (कस्मेटिक) को आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ३७ करोड १६ लाख ३८ हजार रुपैयाँ बराबरको कस्मेटिक आयात भएकोमा आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा यो रकम बढेर ११ अर्ब २५ करोड २४ लाख ३२ हजार रुपैयाँ पुगेको छ  ।

पाँच वर्षको अवधिमा कस्मेटिक आयात करिब ७७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

विभागको तथ्यांकअनुसार आव २०७८/७९ मा ८ अर्ब रुपैयाँ बराबरको कस्मेटिक सामग्री आयात भएको देखिन्छ । आव २०७९/८० मा आइपुग्दा कस्मेटिक आयात केही घटेको देखिन्छ । उक्त आवमा नेपालबाट कस्मेटिक सामग्री आयात गर्दा ७ अर्ब ४२ करोड ५७ लाख ९२ हजार रुपैयाँ बाहिरिएको छ ।

त्यसैगरी, आव २०८०/८१ मा सौन्दर्य सामग्री आयात झन् बढेको देखिन्छ । तथ्यांकअनुसार उक्त आवमा ८ अर्ब २८ करोड ८३ लाख ३३ हजार रुपैयाँ बराबरको सौन्दर्य सामग्री आयात भएको छ ।

कुन सामग्री कति आयात ? 

नेपालमा फेसवास, स्याम्पु, फेस क्रिम, लिपिस्टिक, आई-लाइनर, नेल पोलिसलगायत विभिन्न कस्मेटिक सामग्रीहरू आयात हुने गरेका छन् । तथ्यांकअनुसार ‘अन्य ब्युटी तथा मेकअप’ शीर्षकमा सबैभन्दा धेरै खर्च भएको देखिन्छ । आव २०७७/७८ मा २ अर्ब ८ करोड १५ लाख रुपैयाँको अन्य ब्युटी तथा मेकअपको सामग्री आयात भएकोमा आव २०८१/८२ मा आइपुग्दा दोब्बरले बढेको छ।

आव २०८१/८२ मा ४ अर्ब ५४ करोड ६२ लाख रुपैयाँको सौन्दर्य सामग्री आयात भएको छ । तथ्यांकअनुसार आव २०७८/७९ मा ३ अर्ब २१ करोड ४८ लाख रुपैयाँ, आव २०७९/८० ७ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ र आव २०८०/८१ मा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँको अन्य ब्युटी तथा मेकअप सामग्री आयात भएको छ ।

नेपालमा धेरै आयात हुने सौन्दर्य सामग्रीमा स्याम्पु अगाडि रहेको छ । पछिल्लो पाँच आर्थिक वर्षमा स्याम्पु आयात १ अर्ब २४ करोड रुपैयाँबाट वृद्धि भएर १ अर्ब ३१ करोड १३ लाख रुपैयाँ बराबरको भित्रिएको छ ।

स्याम्पुपछि नेपालमा फेस क्रिम सबैभन्दा धेरै भित्रिएको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा ७९ करोड ५८ लाख रुपैयाँ बराबरको आयात भएकोमा आव २०८१/८२ मा आइपुग्दा १ अर्ब २८ करोड रुपैयाँ ३६ लाख रुपैयाँ फेस वास आयातमा खर्चिएको छ। 

तथ्यांकअनुसार आव २०७८/७९ मा ६८ करोड ८३ लाख रुपैयाँ, आव २०७९/८० मा ७८ करोड ५ लाख रुपैयाँ र आव २०८०/८१ मा १ अर्ब २ करोड ८ लाख रुपैयाँको आयात भएको छ । 

त्यस्तै, नेपालमा धेरै आयात हुने सौन्दर्य सामग्रीमा कपालमा लगाउने कलर रहेको छ, जसको आयात पनि वार्षिक बढ्दो मात्रामा छ । आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बराबरको हेयर कलर आयात भएको छ । आव २०७७/७८ मा यसको आयात ८ करोड ३१ लाख रुपैयाँको आयात भएको थियो । 

तथ्यांकअनुसार आव २०७८/७९ मा ५३ करोड ५४ लाख रुपैयाँ, आव २०७९/८० मा ६२ करोड २० लाख रुपैयाँ र आव २०८०/८१ मा ६ करोड ९९ लाख रुपैयाँ आयात भएको छ ।

चालु आवको ११ महिनामै ११ अर्बको आयात

तथ्यांकअनुसार चालु आव २०८२/८३ को जेठ मसान्तसम्ममा मात्रै ११ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ बराबरको सौन्दर्य सामग्री आयात भएको छ । जसमा सबैभन्दा धेरै अन्य ब्युटी मेकअप सामग्री आयात भएको छ । 

तथ्यांकअनुसार ११ महिनामा अन्य ब्युटी मेकअपको सामग्री आयातमै नेपालबाट ४ अर्ब ४७ करोड २ लाख रुपैयाँ बराबरको भित्रिएको छ । त्यसैगरी, नेपालमा ११ महिनाको अवधिमा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ बराबरको फेस क्रिम आयात भएको छ । फेस क्रिमपछि १ अर्ब १३ करोड २३ लाख रुपैयाँको स्याम्पु आयात भएको तथ्यांकले देखाउँछ ।

११ महिनामा १ अर्ब १ करोड २४ लाख रुपैयाँको हेयर कलर, ७२ करोड ८८ लाख रुपैयाँको बडी लोसन, ७१ करोड ७४ लाख रुपैयाँको लिपिस्टिक, २७ करोड ७२ लाख रुपैयाँको आई-लाइनर आयात भएको छ ।

त्यसैगरी, ६४ करोड ३४ लाख रुपैयाँको हेयर तेल, ८ करोड रुपैयाँ बरारबको परफ्युम, ५ करोड ८८ लाख रुपैयाँको नेल पोलिस, ४ करोड ३९ लाख रुपैयाँको हेयर क्रिम आयात भएको छ ।

नेपालमा सबैभन्दा धेरै सौन्दर्य सामग्री छिमेकी मुलुक भारत र चीनबाट नै आयात हुँदै आएको छ । त्यसबाहेक कोरिया, फिलिपिन्स, पाकिस्तान, थाइल्याण्ड, जापान, भियतनाम, अस्ट्रेलिया, कतारलगायत ४० भन्दा बढी मुलुकबाट आयात हुने गरेको छ ।

Share News