११औँबाट छैटौँ स्थानमा उक्लियो त्रिशक्ति सेक्युरिटिज, आम्दानीमा २४१ प्रतिशत छलाङ

मार्जिन कारोबार सेवा दिन बैंकबाट लियो १ अर्ब ५० करोड ऋण

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) ले गत आर्थिक वर्ष २०८१/८२ मा २३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २४१.१७ प्रतिशत अर्थात् १६ करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीले ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

कम्पनीका अनुसार पछिल्लो समय बजारमा उपस्थिति विस्तार हुनु, सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिगत सहयोगबाट पुँजी बजारको वातावरण अनुकूल बन्दै जानु, साथै सूचीकृत कम्पनी र कारोबारयोग्य धितोपत्रको दायरा विस्तार हुनुले आम्दानीमा उल्लेख्य सुधार आएको हो । यो सुधार चालु आर्थिक वर्ष २०८२/८३ मा पनि निरन्तर रहेको कम्पनीले जनाएको छ। चालु आवको ९ महिनामा कम्पनीले १९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

कम्पनीका अनुसार सेयर बजारले ऐतिहासिक उचाइ छोएको वर्ष त्रिशक्ति सेक्युरिटिजको कुल सञ्चालन आम्दानी १९ करोड ४० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ सय प्रतिशत बढी थियो । त्यसपछि बजारमा आएको करेक्सनका कारण आम्दानी ५ देखि ७ करोड रुपैयाँको हाराहारीमा सीमित भएको थियो । 

वि.सं. २०६४ पुसमा स्थापना भएको त्रिशक्ति सेक्युरिटिजले लगानीकर्तालाई पुँजी बजारसम्बन्धी सेवा सहज, सुरक्षित र प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएको छ । धितोपत्र बोर्ड नेपालबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्यका रूपमा रहेको कम्पनीले सेयर खरिद-बिक्री तथा अभौतिक सेयरसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्य पनि हो । यसमार्फत कम्पनीले सेयर खरिद-बिक्री सेवा, हितग्राही खाता, सेयर राफसाफ तथा निक्षेपसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीले हाल देशभर ६ वटा शाखामार्फत सेवा दिँदै आएको छ । कम्पनीको अध्यक्ष टंकप्रसाद गौतम छन् भने सञ्चालकमा मनोज खड्का, गोविन्द दाहाल, रुपा अधिकारी र बासुदेव बजगाईं रहेका छन् ।

चालु आवको पछिल्लो तथ्याङ्क अनुसार त्रशक्ति सेक्युरिटिजसँग ६७ हजार ९६७ सक्रिय ग्राहक आबद्ध रहेका छन् । समग्र बजार कारोबारमा संकुचन आएको अवस्थासमेत कम्पनीले आफ्नो बजार हिस्सा २ प्रतिशतबाट बढाएर २.९० प्रतिशत पु¥याएको जनाएको छ । गत वर्ष ९२ धितोपत्र दलाल कम्पनीमध्ये ११औँ स्थानमा रहेको कम्पनी चालु आवको ९ महिनामा छैटौँ स्थानमा उक्लिएको दाबी गरिएको छ । कम्पनीका अनुसार कुल आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा धितोपत्र खरिद-बिक्रीबाट प्राप्त हुने दलाली शुल्कबाट आउने गरेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

धितोपत्र बोर्ड नेपालले २०८२ फागुनमा मार्जिन कारोबार सुविधा निर्देशिका, २०८२ जारी गरेसँगै इजाजतप्राप्त धितोपत्र दलाल कम्पनीहरूले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने बाटो खुलेको छ । यसैअनुसार त्रिशक्ति सेक्युरिटिजले आगामी आर्थिक वर्ष २०८३/८४ देखि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको  छ। मार्जिन कारोबार सेवा सञ्चालनका लागि कोष व्यवस्थापन गर्न कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन कर्जासम्बन्धी केही नियामकीय प्रावधान खुकुलो बनाउँदै एकल ऋणी सीमा बढाउनुका साथै जोखिम भारलाई १०० प्रतिशतमा सीमित गरेपछि यस क्षेत्रमा बैंकहरूको कर्जा प्रवाह बढाउन सहज वातावरण बनेको उल्लेख गरिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको अवस्थामा राष्ट्र बैंकको यस्तो नीतिगत सहजीकरणले मार्जिन कर्जा प्रवाहलाई थप प्रोत्साहन गरेको कम्पनीको भनाइ छ ।

Share News