सामाजिक सञ्जालमार्फत अश्लील भिडियो पठाएर दुःख दिने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको अश्लील भिडियो र तस्बिर दुरुपयोग गरी ब्ल्याकमेल गर्ने आरोपमा एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङको खोटेहाङ गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौंको बसुन्धरामा बस्दै आएका २० वर्षीय पवन निरौलालाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार ती युवकले पीडित महिलासँगको सम्बन्धका क्रममा खिचिएका अश्लील भिडियो तथा तस्बिरको दुरुपयोग गर्दै अनुचित लाभ लिन बारम्बार दबाब दिएका थिए । पीडितले माग पूरा नगरेपछि ती सामग्री ह्वाट्सएपमार्फत पीडितका परिवारका सदस्यलाई पठाएको उजुरी परेको थियो ।

उजुरीपछि गरिएको प्राविधिक अनुसन्धान तथा डिजिटल विश्लेषणका आधारमा प्रहरीले असार १७ गते काठमाडौं महानगरपालिका–७ बाट उनलाई पक्राउ गरेको जनाएको छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ। 

साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिगत गोपनीयतामाथिको हस्तक्षेप तथा ब्ल्याकमेलजस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

Share News