८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो ।

अस्पतालले ८९ अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डा. श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका १४ वटा सङ्घीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो । मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि एक हजार ४ सय ९७ विभिन्न सूचकहरु बनाएर परीक्षण गरेको हो । गत वर्ष अस्पतालले ८८ अङ्कसहित उत्कृष्ट बनेको थियो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षभन्दा चालु आवमा अस्पतालले अझै राम्रो गरेको बताए । बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाइ, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधिक गरेको उनको भनाइ छ ।

कूल ६ सय शैयाको भरतपुर अस्पतालमा दैनिक दुई हजार ५ सय देखि तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले १४ वटा अतिविशिष्ट सेवा सञ्चालन गर्दै आएको छ । जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द भएपछि बिमाका बिरामीको चाप यहाँ बढेको छ ।

सूचक राम्रो देखिए पनि बिरामीको उच्च चाप र न्यूनतम स्रोतसाधनमा काम गर्नुपर्दा चाहेर पनि बिरामीको अपेक्षाअनुसार अझै सेवा दिन नसकिएको बगालेले बताए ।

Share News