काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट चार लाख ३० हजार रुपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट तीन लाख ९० हजार रुपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख लिई सम्पर्कविहीन भएको पाइएको छ ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देऊमाई नगरपालिका-२ का कृष्णकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं-१४ बल्खुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।