काठमाडौं । ऊर्जा मन्त्रालयले इन्जिनियर सेरोक्स् सुकुपायोलाई पदबाट हटाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत विकास विभागमा कार्यरत इन्जिनियर सेरोक्स् सुकुपायोलाई सेवाबाट हटाउने तयारी गरेको हो ।
नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, राजपत्र तृतीय श्रेणीका इन्जिनियर सुकुपायो स्वीकृत बिदा नलिई लगातार ९० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहेपछि सेवाबाट हटाउने तयारी गरेको हो ।
वैदेशिक अध्ययन पूरा गरेपछि ३० दिनभित्र कार्यालयमा हाजिर नभएको तथा अध्ययन बिदापछि अनिवार्य रूपमा गर्नुपर्ने न्यूनतम सेवा अवधि पनि पूरा नगरेको मन्त्रालयले जनाएको छ ।
यसअघि निजामती सेवा नियमावली, २०५० अनुसार सफाइ पेश गर्ने अवसर दिइए पनि पेश गरिएको सफाइ सन्तोषजनक नभएको मन्त्रालयको भनाइ छ ।
त्यसैले निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) को खण्ड (छ) र (ज) अन्तर्गतको कसुरमा सोही ऐनको दफा ५९(ख)(१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी निजामती सेवाबाट किन नहटाउने भन्दै कारणसहित स्पष्टीकरण पेश गर्न मन्त्रालयले ३० दिनको समय दिएको छ ।