काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि जेठ मसान्तसम्ममा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अवधिमा सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा १ खर्ब १३ अर्ब १८ करोड ३२ लाख रुपैयाँको मात्रै सोयाविन तेल निर्यात भएको तथ्यांक छ । नेपालबाट भारतमा उक्त रकम बराबरको सोयाविन तेल निर्यात भएको देखिन्छ ।
दोस्रो धेरै निर्यात हुने वस्तुमा अलैंची रहेको छ । जेठसम्ममा नेपालबाट १२ अर्ब ७ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । अलैंची पनि नेपालबाट भारतमा नै निर्यात हुने गरेको छ ।
त्यस्तै, तेस्रो धेरै निर्यात हुने वस्तुमा सूर्यमूखीको तेल रहेको छ । ११ महिनाको अवधिमा नेपालबाट ७ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको सोयाविन तेल भारतमा निर्यात भएको देखिन्छ ।
त्यसैगरी, ६ अर्ब १४ करोड २ लाख रुपैयाँको पाम तेल निर्यात भएको छ । नेपालबाट भारतमा नै पाम तेल निर्यात हुने गरेको छ । पामतेलपछि नेपालबाट धेरै निर्यात हुने वस्तुमा गलैंचा देखिन्छ । साउनदेखि जेठ मसान्तसम्ममा ६ अर्ब ७ करोड रुपैयाँको गलैंचा निर्यात भएको छ ।
गलैंचापछि जुट वा अन्य वनस्पतिबाट बनेको ब्लिच नगरिएको बुना कपडा रहेको छ । ११ महिनाको अवधिमा नेपालबाट ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको सो वस्तु निर्यात भएको देखिन्छ ।
त्यस्तै, ११ महिनामा ४ अर्ब ४० करोड रुपैयाँको मिक्स जुस, ४ अर्ब ३८ करोड रुपैयाँको एक धागो, ३ अर्ब ७५ करोड रुपैयाँको कुकुर र बिरालोको खाना र ३ अर्ब ६७ करोड रुपैयाँको अन्य धागो निर्यात भएका छन् ।