काठमाडौं । नेपालका सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा अध्ययनरत विद्यार्थीको संख्या २७ लाखभन्दा बढी रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८०/८१ मा पूर्वप्राथमिक तहदेखि उच्च शिक्षासम्म गरी निजी तथा गैरसरकारी शिक्षण संस्थाहरूमा कुल २७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।
तथ्याङ्कअनुसार सबैभन्दा धेरै विद्यार्थी विद्यालय तहमा रहेका छन् । पूर्वप्राथमिक तहमा करिब १ लाख २३ हजार, आधारभूत तहमा ११ लाख ५३ हजार र माध्यमिक तहमा ७ लाख १ हजार विद्यार्थी अध्ययनरत छन् ।
यस्तै, उच्च शिक्षातर्फ स्नातक तथा सोभन्दा माथिल्लो तहमा करिब ३ लाख ६६ हजार विद्यार्थी रहेका छन् भने प्राविधिक तथा व्यावसायिक शिक्षाको डिप्लोमा तथा डिग्री तहमा ३४ हजार ६८८ विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्कले देखाएको छ ।
उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्। देशभर उच्च शिक्षामा अध्ययन गर्ने ४ लाख ४४ हजार ५०८ विद्यार्थीमध्ये २ लाख १४ हजार २७१ जना करिब ४८ प्रतिशत बागमती प्रदेशमा अध्ययनरत छन् ।
संकायगत रूपमा हेर्दा व्यवस्थापन तथा वाणिज्य संकाय सबैभन्दा लोकप्रिय देखिएको छ । यस संकायमा २ लाख ३६ हजार ४८७ जना (५३ प्रतिशत) विद्यार्थी अध्ययनरत छन् । त्यसपछि शिक्षा संकायमा १ लाख १२ हजार ३७८ जना २५ प्रतिशत, मानविकी तथा सामाजिक शास्त्रमा ७८ हजार २ जना १८ प्रतिशत, विज्ञान तथा प्रविधिमा १५ हजार १५५ जना ३ प्रतिशत र इन्जिनियरिङ अध्ययनमा १३ हजार ७४३ जना ३ प्रतिशत विद्यार्थी अध्ययनरत छन्। अन्य संकायमा १३ हजार ४२९ जना ३ प्रतिशत विद्यार्थी रहेको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा व्यवस्थापन तथा वाणिज्य संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको छ ।
कर्णाली प्रदेशमा भने उच्च शिक्षामा अध्ययनरत १५ हजार ७ सय २६ विद्यार्थीमध्ये १० हजार १ सय ६३ जना ७० प्रतिशत शिक्षा संकायमा अध्ययनरत रहेका छन् ।