काठमाडौं । बैतडीको शाहीलेकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना भएको छ ।
धनगढीबाट बैतडी सदरमुकामतर्फ गइरहेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१-००१ ख ३६४६ नम्बरको बस साँझ पौने ६ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते भएका ९ जनाको तत्काल उद्धार गरिएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटना लगत्तै बस चालकलाई नियन्त्रणमा लिइएको छ ।
दुर्घटनाको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।