काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र शहरलाई समेटेर तथा आवश्यक विकल्प उपलब्ध गराएर सुधार गर्न आग्रह गरेकी छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँगको छलफलमा कार्यवाहक प्रमुख डङ्गोलले ट्राफिक व्यवस्थापनमा सहरको बाहिरी मुहार मात्र हेरेर नभई झट्ट हेर्दा नदेखिने स्थानहरूमा व्यवस्थापन कसरी भइरहेको छ भन्ने पक्षलाई समेत ध्यान दिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘कालोपत्र सडकमा पार्किङ हुन दिएको छैन । यसले सहरको मुहार राम्रो देखाएको छ । तर यो मुहार त्यतिबेला मात्र अझ चम्किलो हुन्छ, जब भित्री गल्ली र चोकहरूमा सवारीसाधनको चाप व्यवस्थित हुन्छ । सवारी चालकले ढुक्क भएर पार्किङस्थल कहाँ छ भनेर चिन्न र उपयोग गर्न सक्छन् । एकातिरको चाप अर्कोतिर सर्ने अवस्था हुँदैन ।’
काठमाडौंको ट्राफिक व्यवस्थापनका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘पार्किङको सुविधा तथा विकल्प उपलब्ध गराएर व्यवस्थापन गरौँ । ट्राफिक प्रहरी र कामपा प्रहरीबीच निकट समन्वय कायम गरी दीर्घकालीन रूपमा काम गरौँ । यसका लागि कामपाले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ ।’
‘काठमाडौंको पूर्वाधारसँग सवारी चालकहरूको मनोविज्ञान जोडिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले भने, ‘सडकमा डोरी टाँगिएको छ वा कोन राखिएको छ भने मात्र ट्राफिक नियम पालना गर्ने, तर यस्ता पूर्वाधार नभएका स्थानमा जथाभावी गर्ने प्रवृत्ति देखिन्छ । पूर्वाधारसँग सम्बन्धित यो मनोविज्ञान सुधार गर्न आवश्यक छ ।’
चालकहरूको अनुशासनका विषयमा उनले भने, ‘गएका चार दिनमा विद्यालयका सवारीसाधन चलाउने १६ जना चालकले बिहानै मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइयो । यो एउटा उदाहरण मात्र हो । सुधार गर्नुपर्ने क्षेत्र अझै धेरै छन् ।’
काफ्लेले असार महिनभर सचेतना मूलक कार्यक्रम सञ्चालन गरी सडक सुरक्षा तथा ट्राफिक नियम पालनामा जिम्मेवार बन्न अनुरोध गर्ने र साउनदेखि कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
काठमाडौंको सहरी व्यवस्थापनका प्रमुख विषयहरू मध्ये ट्राफिक व्यवस्थापन पनि एक रहेको उल्लेख गर्दै छलफलमा यसको सुधारबाट नागरिकले सरकारका कामको प्रत्यक्ष अनुभूति गर्न सक्ने धारणा व्यक्त गरिएको थियो । सोही उद्देश्य अनुरूप समन्वयात्मक रूपमा काम गर्ने निष्कर्ष बैठकले निकालेको थियो ।
छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ पनि सहभागी थिए ।