इन्जिनियरमाथि कुटपिट गर्ने मल्ल दाजुभाई पक्राउ

काठमाडौं । धादिङमा  इन्जिनियरमाथि कुटपिट गरी फरार रहेका दुई व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रमुख सन्तोष खडकाले इन्जिनियरमाथि कुटपिट ४० वर्षीय भीम मल्ल र ५७ वर्षीय विक्रम भन्ने बलबहादुर मल्ललाई पक्राउ गरिएको  जानकारी दिए ।

उनका अनुसार मल्ल दाजुभाइ निलकण्ठ नगरपालिका ४ का हुन् । इजरा खानेपानी आयोजनाको साइट निरीक्षणका लागि धादिङ पौवा जाँदै गरेका सप्तरीको सप्तकोशी नगरपालिका-२ निवासी सब-इन्जिनियर हबेन्द्र कुमार यादव माथि कुटपिट भएको हो।

केही दिनअघि नीलकण्ठ नगरपालिका–४ धादिङ पौवामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन अन्तर्गत धादिङ शाखा कार्यालयमा कार्यरत सब-इन्जिनियरमाथि कुटपिट भएको थियो ।

घटनामा मोटरसाइकल चालक चितवनको भरतपुर महानगरपालिका-९ निवासी सब-इन्जिनियर सुरेश आले मगरमाथि पनि आक्रमण भएको थियो । 

मल्लले मुक्का प्रहार गर्दा सब इन्जिनियर यादवको दाँत हल्लिनुका साथै बङ्गारा नजिकको हड्डी समेत भाँचिएको एक्सरे रिपोर्टबाट पुष्टि भएको छ। 

उनलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित बी एन्ड बी अस्पताल ग्वार्को ल्याइएको प्रहरीले जनाएको छ।

Share News