हिन्दुकुश क्षेत्रमा कम वर्षा हुने प्रक्षेपण, आकस्मिक विपद्को चेतावनी

काठमाडौं । हिन्दुकुश-हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले उक्त अध्ययनसम्बन्धी ‘हिन्दुकुश-हिमालय (एचकेएच) मनसुन आउटलुक २०२६’ बिहीबार प्रकाशित गरेको हो । एचकेएच मनसुन आउटलुक २०२६, विश्व तथा क्षेत्रीयस्तरका विभिन्न जलवायु मोडेलहरूको पूर्वानुमानमा आधारित छ ।

यसको उद्देश्य जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसमअघि सरकार, विपद् व्यवस्थापन निकाय र समुदायलाई योजना तथा पूर्वतयारीमा सहयोग पुर्याउनु रहेको इसिमोडले जनाएको छ । यस अध्ययनले भूटान, भारत, नेपाल र पाकिस्तानलगायत मुलुकमा औसतभन्दा कम वर्षा हुने तथा यस क्षेत्रका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ ।

यसका बाबजुद विज्ञहरूले आकस्मिक बाढी, पहिरो तथा अन्य जोखिमहरूको सम्भावना उच्च रहने बताएका छन् । ‘कमजोर मनसुन भए पनि छोटो अवधिको अत्यधिक वर्षा अझै ठूलो चिन्ताको विषय हो,’ इसिमोडका जलविज्ञ मनीष श्रेष्ठले भने, ‘समुदाय र सम्बन्धित निकायहरूले छोटो अवधिका मौसम पूर्वानुमान तथा परामर्शहरूलाई नजिकबाट पछ्याउन आवश्यक छ ।’

अनियमित वर्षा र बढ्दो तापक्रमको संयोजनले एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम बढाउने अनुमान गरिएको छ । लामो समयसम्मको सुक्खा अवस्थापछि अचानक भारी वर्षा हुन सक्ने भएकाले विशेषगरी पहाडी क्षेत्रमा आकस्मिक बाढी र पहिरोको अवस्था सिर्जना हुन सक्छ ।

जलविज्ञ श्रेष्ठले भने, ‘यस आउटलुकले समग्रमा अपेक्षाकृत सुक्खा मनसुनको सङ्केत गरेको छ, तर त्यसको अर्थ जोखिम कम हुनु होइन । छोटो अवधिका तीव्र वर्षाका घटनाले गम्भीर विपद् निम्त्याउन सक्छन् ।’

तातो मौसमले गर्मीजन्य तनाव बढाउने र पानीको उपलब्धता घटाउने सम्भावना पनि रहेको छ । मौसमको सुरुआतमा हिमपातको स्थायित्व कम रहनुले यस क्षेत्रको प्राकृतिक जल सञ्चय क्षमतालाई थप कमजोर बनाउनेछ, जसले नदी प्रणाली र भू-जल पुनर्भरणलाई वर्षाको परिवर्तनशीलताप्रति अझ संवेदनशील बनाउनेछ । 

‘हिमपात लामो समयसम्म नटिक्नुले  मनसुन सुरु हुँदा यस क्षेत्रको प्राकृतिक मौसमी जल सञ्चय क्षमता घटेको अवस्थालाई जनाउँछ,’ आउटलुकका सह-लेखक सार्थक श्रेष्ठले भने । 

विज्ञहरूका अनुसार यी संयुक्त जोखिमहरूले दक्षिण एसियाभर विपद् योजना तथा प्रतिकार्य व्यवस्थापनलाई जटिल बनाइरहेका छन् । ‘मनसुनको बढ्दो अनिश्चितताले समन्वयसम्बन्धी चुनौतीहरू सिर्जना गरिरहेको छ,’ इसिमोडका जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानले भने, ‘अबको पूर्वतयारीका लागि सरकार, प्राविधिक निकाय र स्थानीय तहबीच अझ सशक्त समन्वय आवश्यक छ ।’

आउटलुकले खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमाथि बढ्दो दबाबका साथै ग्रामीण र सहरी दुवै क्षेत्रमा बढ्दो संवेदनशीलतालाई पनि औंल्याएको छ । ‘लामो सुक्खा अवधिपछि हुने अनियमित वर्षाले पहिरोको जोखिम बढाउँछ,’ रिका इन्डियाका प्रमुख कार्यकारी अधिकृत रनित चटर्जीले भने, ‘यसले बसाइँसराइ, खाद्यान्नको मूल्यवृद्धि, ऊर्जा सङ्कट तथा पर्यटन क्षेत्रमा अवरोधलगायत सामाजिक-आर्थिक दबाबलाई अझ बढाउन सक्छ ।’

वैज्ञानिकहरूले सशक्त प्रारम्भिक चेतावनी प्रणाली र प्रभाव-आधारित पूर्वानुमानको आवश्यकतामाथि पनि जोड दिएका छन् । ‘खडेरी र बाढीका जोखिमलाई अब छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिँदैन,’ इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठले भने, ‘बढ्दो जटिल जोखिमहरूको सामना गर्न प्रारम्भिक चेतावनी प्रणाली, छोटो अवधिका पूर्वानुमान र स्थानीयस्तरमा आधारित पूर्वतयारीले एकसाथ काम गर्न आवश्यक छ ।’

जलवायु परिवर्तनजन्य अनिश्चितता बढ्दै जाँदा एउटै प्रकारको विपद्का लागि मात्र तयारी गर्नु पर्याप्त नहुने विज्ञहरूको चेतावनी छ । ‘एउटै, पूर्वानुमान गर्न सकिने जोखिमका लागि मात्र तयारी गर्ने युग समाप्त भइसकेको छ,’ इसिमोडका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ शश्वत सन्यालले भने, ‘पूर्वानुमानमा आधारित पूर्वकार्य र प्रारम्भिक चेतावनी अब आधारभूत आवश्यकता बन्नुपर्छ ।’

हिन्दुकुश-हिमालय (एचकेएच) क्षेत्र एसियाभर ३ हजार ५०० किलोमिटरसम्म फैलिएको छ । यसले अफगानिस्तान, बङ्गलादेश, भूटान, चीन, भारत, म्यान्मा, नेपाल तथा पाकिस्तान गरी ८ देश समेट्छ । उच्च हिमाली शृङ्खला, मध्यपहाडी क्षेत्र तथा मैदान समेटिएको यो क्षेत्र करिब २ अर्ब मानिसको खाद्य, पानी तथा ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ । साथै, असङ्ख्य दुर्लभ तथा अपूरणीय जीवजन्तु र वनस्पतिको बासस्थान पनि हो । यो क्षेत्र जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयबाट सिर्जित विश्वव्यापी सङ्कटका असरबाट जोखिमग्रस्त छ ।

Share News