काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने अवसर नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाउँदै संसद्को बेल घेराउ गरेका छन् ।
हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरू बैठक चलिरहेकै बेला आफ्नो असन्तुष्टि जनाउन बेल अगाडि पुगेका हुन् । उनीहरूले विभिन्न नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
पार्टीका सांसदहरूले आफूहरूलाई रोष्ट्रमबाट धारणा राख्न नदिएको आरोप लगाउँदै विरोध जनाएका हुन् । विरोधका बीच पनि सभामुखले बैठकको कार्यसूचीलाई निरन्तरता दिँदै बैठक अगाडि बढाइरहेका छन् ।
सांसदहरूको नाराबाजीका कारण केही समय संसद् भवनमा तनावपूर्ण अवस्था सिर्जना भए पनि बैठक सञ्चालन भने जारी रहेको छ।
श्रम संस्कृति पार्टीले बोल्ने समय र अवसरको विषयमा आपत्ति जनाउँदै आएको छ ।