जनार्दनको जगमा बसेर सुधनको पुनर्बहालीको तयारी

प्रधानमन्त्रीको हातमा प्रतिवेदन, स्रोत भन्छ : दोषी देखिएनन्

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङलाई पुनः गृहमन्त्रालयमै फर्काउने तयारी भएको छ । बिचौलियासँग साँठगाँठ गरेर सम्पत्ति आर्जेको आरोप लागेपछि गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङ फेरि गृहमै फर्किने तयारी गरिएको बुझिएको छ । 

गुरुङको सम्पत्ति छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष प्रतिवेदन बुझाएको छ । संयोजक अच्युतमप्रसाद भण्डारी तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको  छानबिन समितिले प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको हो । 

समितिले गुरुङको सम्पत्ति छानबिन र उनीसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो । स्रोतका अनुसार समितिले ४५ पृष्ठ लामो प्रतिवेदन तयार गरेको छ । गत बैशाख २८ गते समिति गठन गरेको थियो । 

गृहमन्त्री रहेकै समयमा गुरुङले विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा सेयर रहेको सार्वजनिक भएपछि उनले गत बैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । आज उनले राजीनामा दिएको ४४ दिन भएको छ । 

धेरैले अब गृहमन्त्रीमा पुनः गुरुङ नै फर्किने चर्चा गरिरहेका छन् । समितिले पनि उनलाई दोषी नदेखाएको बुझिएको छ । गृहमन्त्री हुनुअगावै पैसा तिरेर नै सेयर खरिद बिक्री भएकोले त्यसमा उनको कमजोरी नरहेको निष्कर्ष प्रतिवेदनमा रहेको बुझिएको छ । 

अहिले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बालेनले नै सम्हालिरहेका छन् । सरकारले उनलाई पुर्ननियुक्ति गर्ने आश्वासनमा नै राजीनामा दिन लगाएको चर्चा पनि भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग लामो परामर्श गरेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका थिए । 

समितिले उनलाई दोषी नदेखाएपछि सरकारले पनि उनलाई नै गृहमन्त्रीमा फर्काउनका लागि कुने पनि व्यक्तिलाई उक्त मन्त्रालयको जिम्मेवारी नदिएर प्रधानमन्त्री शाह आफैले राखेका हुन् । 

जनार्दनको जगमा गुरुङको पुर्नबहाली

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएका थिए । २०७९ असार २२ गते उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएपछि सोही दिन उनले पदबाट राजीनामा दिएका थिए । 

सो समितिले उनीमाथि छानबिन गर्दै २०७९ साउन १३ गते प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको दुई दिनपछि अर्थात साउन १५ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सो अवधिमा अर्थमन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेर पछि शर्मालाई नै अर्थमन्त्रीमा पुनःनियुक्ति दिएका थिए । 

संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनी २५ दिनपछि अर्थमन्त्रालयमा फर्किएका थिए । 

अहिले बालेन शाह नेतृत्वको सरकारले पनि सुधन गुरुङलाई त्यसरी नै पुनः गृहमन्त्रालयमा फर्काउने रणनीति बनाएको छ । गुरुङ गृह मन्त्रालयबाट बाहिरिएको डेढ महिना बितिसकेको छ । यो अवधिसम्म गृहमा नयाँ मन्त्री नियुक्त नहुनुलाई उनलाई पुनः गृहमन्त्रीमै नियुक्ति गर्न सक्ने सम्भावना प्रबल रहेको छ । 

Share News