वीरगञ्ज नाकाबाट करिब ८ अर्बको दलहन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात अर्ब ९७ करोड रुपैयाँ बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो । 

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा दुई अर्ब २४ करोड रुपैयाँ अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट १० अर्ब २१ करोड रुपैयाँ मूल्यका दलहन आयात गरिएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताए । उनका यस अवधिमा तीन अर्ब २० करोड रुपैयाँ मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा चार अर्ब ५० करोड रुपैयाँको मुसुरो दाल आयात भएको थियो । 

यसैगरी, चालु आवका १० महिनामा दुई अर्ब चार करोड रुपैयाँ मूल्य पर्ने सिसी/राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने दुई अर्ब ७४ करोडको रुपैयाँ सिमी/राजमा आयात भएको थियो । चालु आवको १० महिनामा एक अर्ब ९२ करोड रुपैयाँ मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने दुई अर्ब १७ करोड रुपैयाँको आयात भएको थियो । 

चालु आवको १० महिनामा ४२ करोड रुपैयाँ मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा ४५ करोड ८८ लाख रुपैयाँको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।   

Share News