नेपाली मुद्रामै ‘डायस्पोरा बण्ड’ जारी गरिने

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाली मुद्रामै ‘डायस्पोरा बण्ड’ जारी गरिने घोषणा गरेका छन्। बजेट प्रस्तुत गर्दै उनले विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली रुपैयाँमै लगानी गर्न सकिने गरी बण्ड जारी गर्ने व्यवस्था गरिने बताएका हुन्।

सरकारले गैरआवासीय नेपालीबाट पुँजी परिचालन गर्दै विकास निर्माण र उत्पादनशील क्षेत्रमा लगानी जुटाउने उद्देश्यले यस्तो नीति अघि सारेको जनाएको छ। नयाँ व्यवस्थासँगै विदेशमा रहेका नेपालीले विदेशी मुद्राको सट्टा नेपाली मुद्रामै लगानी गर्न सक्ने बाटो खुल्ने भएको छ।

अर्थमन्त्री वाग्लेले वैदेशिक रोजगारी र विदेशमा बसोबास गरिरहेका नेपालीको बचतलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने, पूँजी बजार विस्तार गर्ने र दीर्घकालीन लगानीको स्रोत जुटाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताए। सरकारले यससम्बन्धी कार्यविधि र कार्यान्वयन मोडालिटी राष्ट्र बैंकसँगको समन्वयमा अघि बढाउने जनाएको छ।

Share News