माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ । वैशाख १७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आजसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ८६ लाख रुपैयाँको ८ लाख ८६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ ।

स्थानीयलाई छुट्याएको सेयरमध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीय र ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन् ।

Share News