इप्पानमा पनि सुरु भयो चुनावी सरगर्मी, वरिष्ठ उपाध्यक्षमै ६ जनाको दाबेदारी

माथिबाट क्रमश: इप्पानका वर्तमान उपाध्यक्षहरू आनन्द चाैधरी, भरत खत्री र उत्तम भ्लाेन, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल र सचिव हिम पाठक ।

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा पनि चुनावी रौनक बढेको छ । विशेषगरी आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा आधा दर्जन आकांक्षीहरू देखिएपछि चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।

स्रोतका अनुसार  वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षहरू भरत खत्री, उत्तम भ्लोन र आनन्द चौधरीसहित महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल र सचिव हिम पाठक मैदानमा उत्रिएको छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा आकांक्षीहरूको संख्या धेरै भएपछि नेतृत्वले सहमतिको प्रयास गरिरहेको छ । ‘हामीले साथीहरू मिलेर जाऔं, सरसम्मत नेतृत्व चयन गरौं भनेर छलफल त गरिरहेका छौं, तर कसैले पनि नछोड्ने अवस्था आए चुनावी मैदानमै जानुपर्ने हुन्छ,’ स्रोतले विकासन्युजसँग भने । 

इप्पानमा करिब ५ देखि ६ सय सदस्यहरू रहेकाले सकेसम्म विवादरहित ढंगले नेतृत्व छान्न प्रयास भइरहेको उनले बताए । विधानको प्रावधान र स्वतः अध्यक्षको बहस इप्पानको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । 

यद्यपि नेपाल उद्योग वाणिज्य महासंघको सिको गर्दै इप्पानले पनि यो प्रावधान हटाउन विधान संशोधनको निर्णय कार्यसमितिबाट गरिसकेको छ ।

तर, उक्त संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण भइनसकेकाले यसपटकको निर्वाचनमा पुरानै व्यवस्था (वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने) लागू हुने स्रोतले बतायो ।

‘जुन दिन जिल्ला प्रशासनको छाप लाग्छ, त्यसपछि मात्र नयाँ व्यवस्था लागू हुन्छ । त्यसैले अहिलेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नै भोलिको अध्यक्षको स्वाभाविक दाबेदार हो,’ स्रोतले थप्यो ।

इप्पानको आगामी ३ वर्षको कार्यकाललाई ऐतिहासिक र चुनौतीपूर्ण दुवै मानिएको छ । देशमा करिब दुई तिहाइ नजिकको बलियो सरकार रहेको समयमा नीतिगत पैरवी गर्नु इप्पानको मुख्य एजेन्डा हुने देखिन्छ ।

स्रोत भन्छ, ‘विसं. २०४९ सालपछि पहिलोपटक नयाँ विद्युत् ऐन आउने तयारीमा छ । यो ऐनले आगामी ५० वर्षसम्मको ऊर्जा क्षेत्रको भविष्य निर्धारण गर्नेछ । यस्तो महत्त्वपूर्ण समयमा आउने नेतृत्वका लागि यो कार्यकाल निकै चुनौतीपूर्ण र विशेष महत्त्वको हुनेछ ।’

निर्वाचनको मिति नजिकिँदै गर्दा प्यानल बनाउने र लबिङ गर्ने क्रम तीव्र भएको छ ।

Share News