काठमाडौं । वीपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका-७ स्थित लास्कोट र घुमाउनेको बीचमा रोकिएका यात्रुको राति उद्धार गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ५ माइक्रोबसका ८९ यात्रुलाई गएराति नै सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन् । सोमबारको वर्षाका कारण रोसी खोलामा पानीको बहाव बढेपछि काठमाडौँतर्फ आउँदै गरेका ती गाडीहरू रोकिएको जनाइएको छ ।
सुरक्षा निकायको तदारुकता तथा मेहनतका कारण रोकिएका यात्रुलाई रातको समयमा सकुशल उद्धार गर्न सकिएको काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । उद्धारका लागि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलगायत सुरक्षा निकायका प्रमुख समेत स्थलगत खटिएका थिए ।
बर्सातपछिको बाढीले रोसी क्षेत्रमा वीपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ बजेदेखि उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेश मार्ग धुलिखेल तथा काभ्रे भञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले यात्रुको जीउधनलाई बेवास्ता गरेको जनाउँदै प्रहरीले सवारी चलाउने ती माइक्रोबसका चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखी अनुसन्धान भइरहेको जनाइएको छ ।
दिउँसोको वर्षाका कारण वीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराइएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडक खण्डमा आवागमन बन्द गराइएको हो ।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपीलसमेत गरिएको छ ।
बेमौसमी वर्षाका कारण पटकपटक रोसी खोलाको बाढीले वीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो ।
गत सालको बाढी पहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।