हस्तकला प्रवर्द्धन र महिला उद्यमशीलताका लागि नेपाल महिला चेम्बर र हस्तकला महासंघबीच सम्झौता

काठमाडौं । नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले समौता गरिएको छ ।

सम्झौताअनुसार दुवै संस्थाले नेपाली कला, संस्कृति, हस्तकला तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र अन्तरराष्ट्रियकरणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

विशेष गरी महिला उद्यमीलाई सशक्त बनाउने, उनीहरूका उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्याउने र नयाँ पुस्ताका हस्तकलाकर्मीलाई दक्ष बनाउने कार्यक्रम सञ्चालन गरिने सम्झौतापत्रमा उल्लेख छ ।

दुवै पक्षबीच प्रदर्शनी, व्यापार मेला, बि-टु-बी कार्यक्रम, सांस्कृतिक आदानप्रदान तथा तालिममार्फत बजार विस्तार गर्ने सहमति भएको छ । साथै उच्चस्तरीय प्रदर्शनी, प्रवर्द्धन परियोजना र तालिमसम्बन्धी सूचनाहरू आदानप्रदान गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइनेछ ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र महासंघका अध्यक्ष रवीन्द्र शाक्यले आज सम्झौतामा हस्ताक्षर गरे । सम्झौतामा दीर्घकालीन साझेदारी विकास गर्दै नेपाल तथा विदेशमा नियमित प्रदर्शनी र ‘रोड(सो’ आयोजना गरी प्रत्यक्ष बजार पहुँच विस्तार गर्ने लक्ष्य पनि राखिएको छ । 

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल हस्तकलाको क्षेत्रमा विश्वमै अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै नेपालको हस्तकला व्यवसाय व्यापारसँगै सिर्जनात्मक शिल्प तथा कला कौशलतासँग पनि जोडिएको बताए ।

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले यस सहकार्यले नेपाली हस्तकला क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न तथा महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताइन् ।

महासङ्घका अध्यक्ष शाक्यले नेपाल महिला चेम्बरसँगको सम्झौताले हस्तकला उद्योगको प्रवर्द्धन र महिला उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

Share News