काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव टरेसँगै पुनः भरी सिलिन्डर बिक्री गर्ने तयारी गरेको छ । निगमले बजारमा देखिएको ग्यास अभावलाई सम्बोधन गर्न ल्याइएको ७.१ केजीको सिलिन्डरलाई हटाएर पुरानै व्यवस्था अर्थात् १४.२ केजीको सिलिण्डर बिक्री गर्ने तयारी गरेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विगतमा मासिक ५०/५१ हजार मेट्रिक टन ग्यास आयात गर्दासमेत अभाव देखिएको बजारमा अहिले आधा सिलिन्डरको व्यवस्थाका कारण आपूर्ति सहज देखिएको छ ।
‘अहिले पछिल्लो १५ दिनमा १८ हजार मेट्रिक टन ग्यास आउँदा पनि उद्योगहरूमा ग्यास थुप्रिएको छ, बिक्री भएको छैन,’ ठाकुरले भने, ‘विगतमा ५० हजार मेट्रिक टन ल्याउँदा पनि नपुग्ने र अहिले १८ हजार मेट्रिक टन आउँदा बिक्री नहुने अवस्था किन आयो भन्नेबारे हामीले तथ्याङ्क केलाइरहेका छौं ।’
ग्यास व्यवसायीहरूले आफूहरूले बजारमा भरी सिलिन्डर पुर्याउन सक्षम रहेको भन्दै निगमलाई ज्ञापनपत्र बुझाइसकेको उनले बताए । यसबारे निगमले हतारमा निर्णय गरेर फेरि बजारमा हाहाकार नहोस् भन्नेमा सावधानी अपनाएको उनको भनाइ छ । ठाकुरका अनुसार ७.१ केजीको व्यवस्थाले बजार कभरेज बढाउन र उपभोक्तालाई ग्यास पाउन सहज भएको थियो ।
अब पुनः १४.२ केजीमा जाँदा आपूर्ति शृङ्खला बिग्रन्छ कि बिग्रँदैन भन्ने विश्लेषण गरेर एक/दुई दिनभित्रै ठोस निर्णय लिइने प्रवक्ता ठाकुर बताउँछन् । बजारमा आपूर्ति सहज देखिए पनि नेपाल आयल निगम अझै ठूलो घाटामा रहेको उनको भनाइ छ ।
प्रवक्ता ठाकुरका अनुसार निगमलाई प्रति सिलिन्डर अर्थात् १४.२ केजी ३३१ रुपैयाँ घाटा भइरहेको छ । हाल आधा सिलिन्डरको मूल्य १००५ रुपैयाँ तोकिएको छ । यो मूल्य ग्यास उद्योगदेखि ५० किलोमिटरको परिधिभित्र मात्र लागू हुने र त्योभन्दा टाढा ढुवानी भाडा थपिने भएकाले ठाउँअनुसार मूल्यमा केही फरक पर्न सक्ने उनले प्रस्ट पारे ।
नेपालमा हाल मासिक औसत ४५ देखि ४६ हजार मेट्रिक टन ग्यासको माग रहेको छ । भारतबाट मागअनुसार नै नियमित ग्यास आयात भइरहेको छ । कुल मागको करिब ४० प्रतिशत खपत काठमाडौं उपत्यकामा मात्र हुने गरेको निगमले जनाएको छ । गर्मी सुरु हँदै गएकाले पनि पछिल्लो समय ग्यासको खपत केही घटेको अनुमान निगमको छ । व्यवसायीको माग, बजारको मौज्दात र उपभोक्ताको सहजतालाई मध्यनजर गर्दै चाँडै नयाँ निर्णय सार्वजनिक गर्ने तयारी गरेको निगमले जनाएको छ ।
मध्यपूर्वको युद्धका कारण आपूर्तिमा समस्या आउन सक्ने भन्दै राज्यले सबैलाई पुर्याउन आधा ग्यासको नीति ल्याएको थियो । सुरुमा १५ दिनका लागि भनिएको यो व्यवस्था अहिले ५० दिन पुग्न लाग्दा पनि नफेरिएको व्यवसायीहरूको गुनासो छ ।
१०० रुपैयाँ मूल्य बढ्दा पनि आयल निगमलाई अझै ३३७ रुपैयाँभन्दा बढी घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य फेरि बढ्यो भने अहिले गोदाममा थुप्रिएको ग्यास उपभोक्ताले महँगोमा किन्नुपर्ने व्यवसायीहरू बताउँछन् ।
व्यवसायीहरूले अहिलेकै मूल्यमा भरी सिलिन्डर बेच्न दिनुपर्ने माग गरिरहेका छन् । एलपीजी उद्योग संघ र बिक्रेता महासंघले तत्काल भरी सिलिन्डर वितरण गर्न अनुमति माग्दै आयल निगम र मन्त्रालयमा ज्ञापनपत्र बुझाइसकेको बताएका छन् ।
‘बजारमा ग्यास पर्याप्त छ, अभाव छैन । केवल व्यवस्थापनको समस्या हो,’ नेपाल ग्यासको आधिकारिक बिक्रेता तथा नेपाल ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलालले भने, ‘हामीले सम्बन्धित निकायमा भनिसकेका छौं, उद्योगीहरू भोलिदेखि नै भरी ग्यास ल्याउन तयार छन् ।’
महिनामा ३५०० सम्म सिलिन्डर बेच्ने दुलाल अचेल दिनभरि फोनमा ग्राहकलाई सम्झाउँदैमा व्यस्त हुन्छन् । ‘धेरैजसो फोन आउँछ, फूल ग्यास आएपछि मात्र मलाई पठाइदिनु है भनेर ग्राहकले भन्नुहुन्छ,’ दुलाल आफ्नो अनुभव सुनाउँछन् ।
उनका अनुसार दैनिक करिब २ सय सिलिन्डर बेच्ने गरेकोमा अहिले ८० वटा सिलिन्डर मात्रै बेच्ने गरेका छन् । आधा सिलिन्डरको बिक्री गर्दा बिक्रेताले पाउने कमिसन पनि आधा नै हुन्छ । तर, मिहिनेत र कर्मचारी खर्च भने उत्तिकै छ । ‘हाफ ग्यासले गर्दा देशभरिका विक्रेताहरू मारमा छन्,’ उनी भन्छन् ।
संकट केवल भान्सा र डिपोमा मात्र सीमित छैन, यसको जरो उद्योगसम्म पुगेको उनको भनाइ छ । उनका अनुसार एउटा १८ टनको ग्यास ट्याङ्करले करिब १२ सय जति फूल सिलिन्डर भर्छ । तर, अहिले त्यही ग्यासबाट २६ सयभन्दा बढी हाफ सिलिन्डर भर्नुपर्ने बाध्यता छ । यसले गर्दा उद्योगीसँग भएका खाली सिलिन्डरका बोतलहरु सबै भरिएर थुप्रिएको उनी बताउँछन् । गोदाम कोचिएका छन् ।
ग्यास भर्ने भाँडो र राख्ने ठाउँ नभएपछि भारतबाट आएका ट्याङ्करहरू उद्योगमै ठडिएको उनले जानकारी दिए ।
‘खाली गर्न नसकेर ट्याङ्कर लोडिङका लागि पठाउन सकिएको छैन,’ दुलाल भन्छन्, ‘यस्तै अवस्था रहे आपूर्ति प्रणाली नै खलबलिन सक्छ ।’