सम्पर्कमा आएका १४४ परिवार होटलमा, सामान सुन्दरीघाटमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने कार्यलाई तीव्रता दिएको छ । यसै सिलसिलामा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीको सुकुम्बासी बस्ती आज बिहान १२:३० बजे पूर्ण रूपमा खाली गरिएको छ ।

विगतका झडप र विवादका तुलनामा यस पटकको स्थानान्तरण कार्य निकै शान्तिपूर्ण र सौहार्दपूर्ण देखिएको छ । बस्ती खाली गराउन पुगेका नेपाल प्रहरी र महानगर प्रहरी बललाई स्थानीयले अवरोध गर्नुको सट्टा सहयोग गरेका थिए । सुरक्षाकर्मीहरूले समेत स्थानीयको घरायसी सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग पुर्याएका थिए ।

हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा बसोबास गरिरहेका कुल १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । ती बस्तीहरूमा कोही व्यक्ति वा परिवार छुटेका छन् कि भनी अहिले पनि खोजी तथा उद्धार कार्य जारी राखिएको प्रशासनले जनाएको छ ।

सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्याई विवरण सङ्कलन गरिएको छ। उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ ।

स्थानान्तरण गरिएका परिवारका घरायसी सामानहरू दशरथ रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यासमा सुरक्षित रूपमा भण्डारण गरिएको छ।

महानगरले वडा नम्बर ९ को गैरीगाउँ र वडा नम्बर ३१ को शान्तिनगरमा बस्ती खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ। यद्यपि, कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार बुद्धचोक र मनोहरा टोलमा रहेका बस्तीहरू आजै खाली गर्ने तयारी भए पनि विशेष कारणवश आजका लागि उक्त प्रक्रिया रोकिएको जानकारी प्राप्त भएको छ ।

सरकारले अब होटलमा राखिएका परिवारहरूको विवरण छानबिन गरी वास्तविक सुकुम्बासीहरूको पहिचान गर्ने र उनीहरूलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने योजना बनाएको छ ।

Share News