१२ दिनमै २३ जनाको ज्यान लिने विपद्

काठमाडौं ।  विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको छ । ती घटनाबाट ७३ जना घाइते भएका र ५२७ परिवार प्रभावित भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सात जनाको आगलागीमा परे ज्यान गएको छ । 

चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ । 

घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३ जना घाइते भएका प्राधिकरणले जनाएको छ । 

पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणले विपद्जन्य घटनाका सावधानी अपनाउन र घटना भएमा तत्काल सम्बन्धित ‘फोकल पर्सन’ वा प्रहरी कार्यालय तथा प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ । 

Share News