रसुवा । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।
यो एम्बुलेन्स विपद्, दुर्घटना तथा गम्भीर प्रकृतिका रोगबाट प्रभावित बिरामीहरूलाई उद्धार गर्नका लागि प्रदान गरिएको हो । आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आमाछोदिङमो गाउँपालिका–१, हाकुस्थित हाकु हेल्थ पोस्टले सञ्चालन गर्नेछ । आयोजनाले प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गर्ने योजना बनाएको छ ।
हाकु हेल्थ पोस्टबाट सञ्चालन गरिने यस एम्बुलेन्सले दुर्गम क्षेत्रका बिरामी तथा दुर्घटनामा घाइते भएकाहरूलाई समयमै अस्पताल पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बायोङ सु मिन ले चैत्र १८ गते सोमबार आयोजित कार्यक्रममा एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू, स्वास्थ्य केन्द्र प्रमुख, आदिवासी जनजाति परिषद्का पदाधिकारीहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थित थियो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै कम्पनीका सीइओ बायोङ सु मिन ले आयोजनाले प्रभावित क्षेत्रका बिरामी तथा दुर्घटनाका घाइतेहरूलाई अस्पताल पुर्याउनुअघि नै आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्रोतसाधन सम्पन्न एम्बुलेन्स उपलब्ध गराएको बताए ।