काठमाडौं । साताको दास्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.८७ बढेर २७२७.९१ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १६६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३०२ कम्पनीको १ करोड ८० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, सीइडीबी होल्डिङको २७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २६ करोड, रिलाइन्स फाइनान्सको २४ करोड र युनाइटेड आइडीआइ मार्दीको १७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रो, एक्सएल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र डिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
आज बैंकिङ क्षेत्र २.१६ प्रतिशत बढेको छ । विकास बैंक ०.३३, होटल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढेको छ ।
त्यस्तै, व्यापार १.२७, हाइड्रोपावर ०.१५ र फाइनान्स ०.८४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।