काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बोटलर्स नेपाल बालाजुको सेयर कारोबार रोकेको छ । नेप्सेले मंगलबार यस कम्पनीको सेयर कारोबार ३ दिनका लागि रोक्का गर्ने निर्णय गरेको हो ।
कम्पनीको मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांश नदिनेसम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा पुस २ गते मात्रै प्राप्त भएको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार बन्द गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको सेयर कारोबार रोक्का राखेको हो ।
उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप पुस २ गतेको निर्णयानुसार त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र के कति कारणबाट समयमा नै नेप्सेमा जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेस गर्न निर्देशन दिएको कम्पनीका सहायक प्रवन्धक सुरेश जोशीले जानकारी दिए ।