काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँगको साझेदारी र दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा हेटौंडामा डिजिटल सशक्तीकरण सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
एनबीएले आफ्ना डिजिटल भुक्तानी सेवाहरू थाहा पाउने गरी डिजिटल सचेतना कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्देश्य बैंकिङ अधिकारीहरूका बीचमा डिजिटल वित्तीय ज्ञान अभिवृद्धि गर्ने, फ्रन्ट-लाइन कर्मचारीहरूमा ध्यान केन्द्रित गर्ने लगायत थियो ।
आईएफसी नेपालका तर्फबाट असिम नेपालले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको मुख्य उद्देश्यबारे जानकारी दिए ।
उनले नेपालमा आईएफसीको चलिरहेको डिजिटल वित्तीय सेवा परियोजना, नेपाल राष्ट्र बैंकलाई डिजिटल वित्तीय क्षेत्रमा नीतिगत सुधारका लागि सहयोग गर्ने प्रयास लगायत बारेमा पनि छलफल गरे ।
उनले डिजिटल वित्तीय साक्षरता सुधारको महत्त्वमा जोड दिँदै यसलाई बढाउनुपर्ने आवश्यकता औंल्याए । यी सेवाहरूको सुरक्षासँग सम्बन्धित ज्ञान विशेषगरी तल्लो तहमा पुर्याउनुपर्ने उनको भनाइ थियो ।
डिजिटल वित्त सेवा विज्ञ शसञ्जीव सुब्बाले डिजिटलाइजेसनका विभिन्न पक्ष समेट्ने प्रस्तुति सहित जानकारीमूलक सत्रको नेतृत्व गरे ।
उनले नेपालमा डिजिटल वित्तीय सेवाको परिदृश्य, डिजिटल भुक्तानी उत्पादन, सीमापार भुक्तानी, डिजिटल ऋण र साइबर धोखाधडी सम्बन्धित मुद्दाहरूबारे जानकारी दिए ।
शसुब्बाले डिजिटलाइजेसनका कारण बैंकिङ उद्योगको भविष्य कसरी परिवर्तन भइरहेको छ भन्नेबारे बताए ।
यी परिवर्तनहरू बुझ्न र ग्राहकलाई सञ्चार गर्न फ्रन्ट डेस्क अफिसरहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
उनले डिजिटल बैंकिङमा बढ्दो ठगीका घटना औंल्याउँदै डिजिटलाइजेसन बारेमा ग्राहक सचेतना अभिवृद्धि गर्नु ग्राहकका लागि मात्र नभई बैंकका लागि पनि आवश्यक रहेको उल्लेख गरे ।
एनबीएका प्रतिनिधि कपिल गौतमले डिजिटलाइजेसनले धेरै अवसर प्रदान गर्दा यसका चुनौतीलाई कम आँकलन गर्न नहुने बताए ।
डिजिटल वित्तीय सेवाहरूसँग सम्बन्धित ज्ञानलाई गहिरो बनाउनु महत्त्वपूर्ण रहेको भन्दै उनले यस क्षेत्रमा एनबीएको निरन्तर प्रयास रहने जानकारी दिएका थिए ।