नेप्सेमा थपियो १ खर्ब ३० अर्बको सेयर, लगानीकर्ताले पाए साढे २१ अर्ब बोनस

<p>काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे २१ अर्ब बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै गत वर्ष ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ भने [&hellip;]</p>

काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे २१ अर्ब बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै गत वर्ष ८६ अर्ब ८१ करोड बराबरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ भने २१ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । यस्तै ३ करोड बराबरको एफपीओ गरी गत वर्ष कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको हो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड रुपैयाँ बराबरको आईपीओ, ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ६ अर्ब २ करोड रुपैयाँ राबरको डिबेन्चर र ४ अर्ब ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

गत असारसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० असारमा सूचीकृत कम्पनीहरू २५४ थिए ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

Share News