काठमाडौं । कारोबार रकममा नयाँ रेकर्ड कायम गर्दै बिहीबार बन्द भएको सेयर बजार साताको पहिलो दिन आइतबार भने ३४.४७ अंकले घटेको छ ।
यस दिन बजार घटेसँगै नेप्से २९६६.३३ बिन्दुमा कायम भएको छ । यसअघि बिहीबार नेप्से ३००० विन्दुमा अडिएकाे थियो । आइतबार नेप्सेसँगै कारोबार रकम पनि केही घटेको छ । आइतबार २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
पुँजीबजारले बिहीबार कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको थियो । बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन हालसम्मकै उच्च कारोबार हो ।
आइतबार ४७ कम्पनी बढेको छ भने १९७ कम्पनी घटेको छ ।
लगानीकर्ताहरू बैंकिङ समूहमा झुम्मिँदा सो समूह ०.८४ प्रतिशत बढेको नेप्सेले जनाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले गुमाएका छन् । यो समूह ४.४९ प्रतिशतले घटेको छ । बैंकिङ ०.८४, जीवन बीमा ०.३७, म्यूचल फण्ड ०.३८ र ननलाइफ ०.४६ प्रतिशतले बढेको छ । त्यसबाहेक अन्य सबै समूह राताम्मै भएका छन् ।
कारोबार रकमको आधारका हिमालयन रि, अपि पावर, कुमारी बैंक नै शीर्ष स्थानमा रहेका छन् । बिहीबार राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्सको मूल्य आइतबार पनि १० प्रतिशतले घटेको छ ।