काठमाडौं । मंगलबार सेयर बजार ठूलाे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३८ प्रतिशत अर्थात् ७०.३१ अंकले घटेर २००७.६९ अंकमा बन्द भएको हो । सत्ता गठबन्धन परिवर्तन भएपछि सोमबार ६ प्रतिशतले बढेको सेयर बजार मंगलबार भने ठूलो अंकले घटेको हो ।
साेमबार नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको थियो । एक दिन अगाडि सकारात्मक सर्किट लागेकाे पुँजी बजारमा दोस्रो दिन नै उच्च अंकले घटेको हो ।
सोमबार गठबन्धन परिवर्तन हुँदा अर्थमन्त्रीमा विष्णु पौडेल र वर्षमान पुनकाे आउने चर्चा थियो । तर, मंगलबार पाैडेलकाे नाम चर्चामा छैन । पुन नै अर्थमन्त्री बन्ने चर्चा छ ।
यसले लगानीकर्ताकाे मनाेवल घटेकाे बुझ्न सकिन्छ । आज दिनभरमा ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको सेयर मूल्य बढेको छ ।
मंगलबार म्युचुअल फण्ड समूह ०.६६ प्रतिशत बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ । आज बैंकिङ समूह ३.०१ प्रतिशत, विकास बैंक समूह ३.६५ प्रतिशत, फाइनान्स समूह २.७५ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६९ प्रतिशत, जलविद्युत समूह ४.३० प्रतिशत, लगानी समूह ३.४८ प्रतिशत, जीवन बीमा समूह ३.४९ प्रतिशत, उत्पादन समूह ४.२० प्रतिशत, लघुवित्त समूह १.२७ प्रतिशत, निर्जीजन बीमा समूह २.६० प्रतिशत, अन्य समूह ४.३५ प्रतिशत र व्यापार समूह २.१५ प्रतिशतले गिरावट आएको छ ।
बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । यस कम्पनीको सेयर मूल्य २ हजार ३२८.६० रुपैयाँ घटेर २० हजार ९६२ रुपैयाँमा झरेको छ । जोशी हाइड्रोपावर ९.९९ प्रतिशत अर्थात ३८.४० रुपैयाँ घटेर ३४६ रुपैयाँमा सीमित भएको छ । यस्तै, बोटलर्स नेपाल (तराई)को ९.४५ प्रतिशत अर्थात् १ हजार ५४४.४० रुपैयाँ घटेर १४ हजार ८ सय रुपैयाँमा सेयर मूल्य झरेको छ ।
बजारमा भारि अंकको गिरावट भएपनि गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.७३ प्रतिशत अर्थात् ७९.९० रुपैयाँ बढेर ९९५ रुपैयाँ पुगेको छ । साथै, मंगलबार सोनापुर मिनिरल्सको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको ४१ करोड ९१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको २४ करोड ६५ लाख रुपैयाँ, घोराही सिमेन्टको १४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।