काठमाडौं । गत कात्तिक २३ गते धौलागिरी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश प्रस्ताव गर्याे । संस्थाले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे ।
संस्थाले नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेपछि साधारण सभाबाट लाभांश पारित गर्ने सूचनामार्फत् जानकारी गराएको थियो । तर, लाभांश घोषणा गरेको २ महिनापछि लघुवित्तले वितरण नगर्ने जानकारी गर्याे । लघुवित्त संस्थाको संचालक समितिको पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश बहादुर बमले बताए ।
‘गत वर्षको सञ्चित नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव सहितको प्रारम्भिक वित्तीय प्रतिवेदन राष्ट्र बैंकमा पठाएका थियाैं, धौलागिरी लघुवित्तको संचालक समितिको पुस २५ गते बसेको बैठकबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ,’ सीईओ बमले भने ।
संस्थाले लाभांश वितरण नगर्ने विषय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पनि जानकारी गराइसकेकाे छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव मीनप्रसाद जोशीका अनुसार लघुवित्तले लाभांश घोषणा नगरी प्रस्ताव मात्रै गरेको थियो । तर, लाभांश प्रस्तावसहित प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा पठाइएकोमा प्रोभिजन बढी गर्नु पर्ने भएपछि वितरण नगर्ने निर्णय गरिएको हाे ।
‘लाभांश घोषणा नभई प्रस्ताव गरेर प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा पठाइएको जानकारी नेप्सेलाई गरेका छाैं । तर, राष्ट्र बैंकले प्रोभिजनिङ बढी गरायो, अहिलेको अवस्थामा बाँड्न मिल्ने वा नमिल्ने स्पष्ट धारणा केही पनि आएन,’ उनले विकासन्युजसँग भने, ‘अहिले पनि लघुवित्तप्रति नकारात्मक धारणा छ, बोनस खुवाएको भनेर चारैतिरबाट पर्ने दबाबलाई मध्येनजर गरी र घाटामा रहेकाले लाभांश नबाँड्ने निर्णय गरिएको हो ।’
यसअघि लघुवित्तले प्रस्ताव गरेको लाभांश ढिला गरी जानकारी गराएको भन्दै नेप्सेले गत कात्तिक २४ गते लघुवित्तको ३ दिन कारोबार स्थगन गरी स्पष्टिकरण सोधेको थियो । सर्भरमा समस्या आएका कारण ढिला भएको र आगामी दिनमा यस्ता समस्या नदोहोर्याउने प्रतिबद्धता जनाएसँगै कारोबार फुकुवा भएकाे थियाे ।
सेयरधनीलाई लाभांशको आश देखाएर अहिले आएर लघुवित्तले लाभांश नदिने घोषणा गर्दा सेयरधनीहरू पनि संस्थाप्रति असन्तुष्ट बनेका छन् । लाभांश प्रस्ताव गरेको दिन अर्थात् कात्तिक २५ गते यस लघुवित्तको सेयर मूल्य ५९० रुपैयाँ थियो । त्यसपछि निरन्तर बढेको सेयर मूल्य पुस २३ गतेका दिन सेयर मूल्य १ हजार ३५ रुपैयाँसम्म पुगेको थियो । तर, कम्पनीले पुस २५ गते लाभांश वितरण नगर्ने बताएपछि आइतबार पुस २९ गते सो लघुवित्तको सेयर मूल्य ८७२ रुपैयाँमा झरेको छ ।
यो अवधिमा लघुवित्तको सेयर मूल्य ४४५ रुपैयाँ अर्थात् ७५.४२ प्रतिशतले बढेको छ । यो बिचमा सेयरधनीले लाभांश पाउने आशमा सेयर खरिद गरेको देखिन्छ । तर, अन्ततः संस्थाले लाभांश वितरण नगर्ने बताएपछि सेयरधनी पुर्पुरोमा हात लगाएर बस्न विवश बनेका छन् ।
यस विषयमा नियामक भने मौन देखिएका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेर अन्ततः वितरण नगर्ने फ्रड काम गरेको संस्थाप्रति पुँजी बजारको नियामक नेपाल धितो बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मौन छन् । लाभांशको लोभ देखाएर सेयरधनीलाई सेयर खरिद गर्न उत्साहित बनाएको धौलागिरी लघुवित्तप्रति नियामक पनि उदार देखिएका छन् ।
नेप्सेका एक कर्मचारी संस्थाहरूले राष्ट्र बैंकको नीतिको लुपहोलको प्रयोग गर्दै सेयर मूल्यमा खेलिरहेको बताउँछन् । उनका अनुसार लाभांश प्रस्ताव गरेपछि राष्ट्र बैंकले रोक्न चाहेमा रोकिने र स्वीकृति दिएमा घोषणा गर्ने अभ्यासले सेयरधनीलाई मर्का भइरहेको छ । यसका लागि राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भइसकेपछि मात्रै लाभांश प्रस्ताव गर्नु पर्ने नीति बनाउनु पर्ने उनको भनाइ छ । अहिलेको अभ्यासले बढ्दो बजारमा सेयरधनी ठूलो नोक्सानमा पर्न सक्ने खतरा हुने उनको भनाइ छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनय देव आचार्यले यस विषयमा सेबोनले एक्सन लिने बताए । ‘यो कसरी भयो, हामी अध्ययन गर्छौं, गलत भएको छ भने कारवाही गर्छौं, सुरुमा लाभांश प्रस्ताव गरेर पछि वितरण गर्दिनँ भन्न मिल्दैन, राष्ट्र बैंकले पनि के कति कारणले नदिएको हो, त्यो विषय पनि खुलाउनुपर्छ, त्यो विषय नखुलाएर वितरण गर्दैनौं भन्न मिल्दैन,’ उनले भने ।
युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब
युनिक नेपाल लघुवित्तविरुद्ध अदालत जाने लगानीकर्ताको चेतावनी, अध्यक्ष हमाल भन्छन् : कारबाही गर्छौं