काठमाडौं । पुँजी बजारमा अर्बाैं रूपैयाँ लगानी भएका ठूला कम्पनीहरूले सेयरधनीलाई लाभांश दिन नसक्ने जनाएका छन् । पब्लिक कम्पनीले धेरै नाफा गरे भनेर विरोध भईरहँदा अर्बाैं रूपैयाँ लगानी भएका कम्पनीहरूले लाभांश दिन नसक्ने घोषणा गरेका हुन् ।
पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंकहरूसँग अर्बाैं रुपैयाँ पुँजी छ । तर, अर्बाैं पुँजी भएपनि गत वर्षको नाफाबाट आधा दर्जन बैंकहरूले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । तीन वटा बैंकको आधिकारिक धारणा आउन बाँकी छ ।
प्राइम कमर्सियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैंकले १६औं वार्षिक साधारणसभा पुस २९ गते अमृतभोग क्याटर्स कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
बैंकमा सेयर पुँजी २० अर्ब रूपैयाँ भन्दा बढी छ भने १० लाख भन्दा बढी सेयरधनी रहेका छन् । बैंकले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, २१ अर्ब ६५ करोड बढी लगानी रहेको हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष सेयरधनीहरूलाई २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । बैंकले ३१औं वार्षिक साधारणसभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको डाकेको छ ।
यस्तै, साढे १४ अर्ब पुँजी भएको नेपाल बैंकको पुस ६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले लाभांश बिना नै ६४औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा पुस २९ गते प्रधान कार्यालय काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै, १८ अर्ब ३६ करोड रुपैयाँ पुँजी रहेको एनएमबि बैंक सञ्चालक समितिले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकले २८औं वार्षिक साधारण सभा पुस २६ गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे डाकेको छ ।
२६ अर्ब २२ करोड रुपैयाँ पुँजी भएको कुमारी बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको भएपनि हालसम्म वार्षिक साधारणसभा आह्वान गरेको छैन । बैंक सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।
अधिकांश बैंकले लाभांश सम्बन्धि निर्णय गरेको भएपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्म कुनै निर्णय गरेका छैनन् ।