काठमाडौं । कर्मचारीहरुका लागि सबैभन्दा बढी चलायमान हुने क्षेत्र हो बैंकिङ । अझ उच्च व्यवस्थापन अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ) तहको व्यक्तिले चार वर्ष काम गरिसकेपछि बैंकबाट बाहिरिनुको विकल्प हुँदैन । बैंक सञ्चालक समितिले चाहेको खण्डमा सीईओले दोस्रो कार्यकालका लागि काम गर्ने अवसर पाउँछ भने नचाहेको अवस्थामा अन्य कुनै संस्थामा काम खोज्ने वा घरमै बसेर अध्ययन अनुसन्धानमा लाग्ने बाहेकको विकल्प उनीहरुसँग हुँदैन ।
त्यसैले पनि यो वर्ष बैंकिङ क्षेत्रबाट केही अनुभवी र यस क्षेत्रमा छाप बसालेका बैंकरहरु बाहिरिएको छन् भने केही बाहिरिने चरणमा छन् । नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिरहेका कृष्णबहादुर अधिकारी पनि सोमबार बैंकबाट बाहिरिसकेका छन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त नगरेपछि उनी बैंकबाट बाहिरिन बाध्य भएका हुन् । अब बैंकले नयाँ सीईओ खोज्नका लागि प्रक्रिया अगाडि बढाउने तयार गरिरहेको छ ।
यस्तै, गत भदौमा कर्पाेरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्रिलोक ध्वज जोशीले पदबाट राजीनामा दिए । बैंक सञ्चालक समितिको गत भदौ २५ गते बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेसँगै उनी बैंकिङ क्षेत्रबाट बाहिरिए ।
बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नदोहोर्याएपछि जोशी बैंकबाट बाहिरएका हुन् । बैंकको सोही दिन बसेको सञ्चालक समितिको बैठकले अर्काे व्यवस्था नभएसम्म कायमुकायम सीईओको जिम्मेवारी बिपिन राज पोख्रेललाई दिएको छ ।
यस्तै, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको पनि कार्यकाल सकिँदैछ । सीईओ कोइरालाको कार्यकाल आगामी बैशाखदेखि सकिने भएको हो । बैंक सञ्चालक समितिको बैठकले वि.सं.२०७७ वैशाख १ गतेदेखि लागू हुने गरी कोइरालालाई सीईओमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।
यद्यपि, बैंक सञ्चालक समितिले उनको नियुक्ती नवीकरण गर्ने जानकारी गरिसकेको बुझिएको छ । पहिलो कार्यकाल सकिएपनि उनी दोस्रो कार्यकालका लागि सीईओका रुपमा नियुक्त हुने सम्भावना बलियो देखिएको हो ।
विगत ११ वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत उनी ४ वर्षदेखि नेतृत्व सम्हाल्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका कोइरालासँग साढे २ दशक लामो बैंकिङ अनुभव छ । कोइरालाले नेदरल्यान्डसको इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एन्ड लिडरसिप प्रोग्राम’मा डिप्लोमा गरेका छन् । उनको नेतृत्वमा बैंकले ठूलो फड्को मारेको छ ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठको कार्यकाल पनि सकिँदैछ । पहिलो कार्यकाल सकिएपछि पुनः बैंकको सीईओमा दोहोरिएका सीईओ श्रेष्ठको कार्यकाल आगामी चैतमा सकिने भएको हो ।
वि.सं. २०७२ चैत २९ गतेदेखि लागू हुनेगरी श्रेष्ठ बैंकको सीईओमा नियुक्त भएका थिए । पहिलो कार्यकाल वि.सं. २०७६ चैत २९ गतेका दिन सकिएपनि वि.सं. २०७६ चैत २७ गते बसेको बैंक संचालक समितिको बैठकले सीईओ श्रेष्ठलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो ।
बैंकको सीईओमा २ कार्यकालभन्दा बढी समय काम गर्न नपाउने नियामकीय प्राबधानका कारण अब उनले बैंकबाट बाहिरिनु पर्ने बाध्यता छ । उनै श्रेष्ठको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंकले निजी वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सफल भएको हो ।
संखुवासभाको चैनपुरमा जन्मिएका सीईओ श्रेष्ठ सरकारी स्वामित्वकै नेपाल बैंकको महाप्रबन्धकबाट अवकास पाएका थिए । नेपाल बैंकमा श्रेष्ठले ३० वर्ष काम गरेका थिए । सीईओ श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट २०३८ सालमा जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।
यस्तै, गरिमा विकास बैंकका सीईओ गोविन्द ढकालको कार्यकाल पनि यस वर्षभित्रै सकिँदैछ । वि.सं. २०६७ साउनदेखि हालसम्म प्रमुख कार्यकारी अधिकृतको पदमा रही काम गर्दै आएका ढकालको कार्यकल आगामी चैतमा सकिँदैछ । वि.सं. २०७६ फागुन २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढकाललाई वि.सं. २०७७ बैशाख १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको थियो ।
सोही नियुक्तिलाई आधार मान्ने हो भने उनको कार्यकाल यसै वर्ष सकिने भएको हो । वि.सं. २०५३ असारदेखि २०६५ भदौसम्म पश्चिमाञ्चल ग्रामिण विकास बैंकमा अधिकृतदेखि बरिष्ठ अधिकृत सम्मको पदमा रही कार्य गरेको अनुभव ढकालसँग छ ।
त्यसपछि ढकालले वि.सं. २०६५ भदौदेखि २०६५ मंसिरसम्म गरिमा विकास बैंकमा प्रबन्धकदेखि शाखा प्रमुख पदमा रही काम गरेका थिए । वि.सं. २०६५ मंसिरदेखि २०६६ असारसम्म प्रबन्धकदेखि कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका ढकाल वि.सं.२०६७ साउनदेखि हालसम्म प्रमुख कार्यकारी अधिकृतको पदमा रही काम गर्दै आएका छन् । चालु आर्थिक वर्षमा बैंकले केही महत्वपूर्ण बैंकरलाई विदाई गर्ने भएको छ ।